गृहपृष्ठ उच्चशिक्षाका लागि सधैं काठमाडाैंकै भर

उच्चशिक्षाका लागि सधैं काठमाडाैंकै भर

surkhet-newskarobar

प्रदीप रानाले जनउच्च मावि सुर्खेतबाट ४ जिपिए ल्याएर एसईई पास गरे । उनलाई सुर्खेतमै पढ्न मन नभएको होइन, तर काठमाडौंमा धेरै सेवासुविधा पाइन्छ कि भन्ने लाग्यो र उतै हानिए । उनले अहिले काठमाडौंका विभिन्न साइन्स कलेजमा धमाधम प्रवेशिका परीक्षा दिइरहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पूर्ण छात्रवृत्तिको आशमा काठमाडौं छिरेको प्रदीप बताउँछन् ।

अमरज्योति नमुना उच्चमाविबाट ए प्लस ल्याएर एसर्ईई पास गरेका मदन सापकोटा पनि साइन्स पढ्न भन्दै काठमाडौं गइसकेका छन् । उनको तर्क छ– सुर्खेतका कलेज गुणस्तरीय छैनन् र शिक्षक पनि अनुभवी छैनन् ।

विद्यार्थी गणेश भण्डारीले पनि सुर्खेतका कलेजले गुणस्तरीय शिक्षा दिन नसक्ने भन्दै काठमाडौं नै पढ्ने निधो गरेका छन् । ‘मैले ४ जिपीए ल्याएर एसईई पास गरेको छु । साइन्स पढेर मुटुरोग विशेषज्ञ बन्न मन छ तर सुर्खेतमा दक्ष शिक्षक र कलेज छैनन्, त्यसैले काठमाडौं नै रोजेँ,’ उनी भन्छन् ।

यी केही प्रतिनिधि उदाहरणमात्र हुन् । सुर्खेतबाट एसईई पास गरेका अधिकांश विद्यार्थीको पहिलो रोजाइ काठमाडौं हुने गर्छ । गुणस्तरीय शिक्षा, दक्ष शिक्षक र छात्रवृत्तिको आशमा विद्यार्थी काठमाडौं जाने गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी जितबहादुर शाही काठमाडौंमा पढेपछि राम्रो हुन्छ भन्ने सोच विद्यार्थी र अभिभावकमा भएकाले यस्तो भएको बताउँछन् । ‘स्वभावैले केन्द्रीय राजधानीजतिको सुविधासम्पन्न कलेज सुर्खेतमा नहुन सक्छन् तर सुर्खेतमा पनि पढ्न लायक कलेज छन्,’ उनी भन्छन्, ‘तर आमविद्यार्थी र अभिभावकको बुझाइ काठमाडौंमात्र राम्रो भन्ने छ ।

जनउच्च मावि सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ पनि सुर्खेतमा धेरै राम्रा विद्यालय भइकन विद्यार्थी केही लोभलालचले काठमाडौं जाने गरेको बताउँछन् । ‘कतिपय विद्यार्थीले काठमाडौं गएर पनि भनेजति सेवासुविधा नपाएका घटना छन्,’ उनी भन्छन्, ‘काठमाडौं सबैथोग होइन भनेर बुझ्न जरुरी छ ।’

सुर्खेतमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित करिब दुई दर्जनभन्दा बढी कलेज खुलेका छन् । तर, भनेजस्तो सेवासुविधा र दक्ष शिक्षक नहुने भन्दै विद्यार्थी काठमाडौं जान छाडेका छैनन् ।

जनसेवा मावि घुस्रा, सुर्खेतका शिक्षक कृष्ण थापा भने सुर्खेतका कजेलमा गुणस्तरीय शिक्षाको कमी देख्छन् । ‘सुर्खेतमा च्याउ उम्रिएसरी कलेज छन्, तर गुणस्तरीय छैनन्, त्यसैले विद्यार्थी गुणस्तर खोज्दै काठमाडौं हानिन्छन्,’ उनले भने ।

सुर्खेतमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित करिब दुई दर्जनभन्दा बढी कलेज खुलेका छन् । तर, भनेजस्तो सेवासुविधा र दक्ष शिक्षक नहुने भन्दै विद्यार्थी काठमाडौं जान छाडेका छैनन् । मुलुक संघीयतामा गइसकेको छ । यस्तो अवस्थामा विद्यार्थीलाई कम्तीमा काठमाडौं जानबाट रोक्नका लागि कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा गुरुयोजना बनाएर अघि बढ्न जरुरी देखिएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

प्रकाशित समय २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु