गृहपृष्ठ सामाजिक सुरक्षा भत्ताको ६२ लाख हिनामिना

सामाजिक सुरक्षा भत्ताको ६२ लाख हिनामिना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्तालगायतको ६२ लाख १२ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा हुम्लाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हुम्लाको साविक कालिका, मैला र मदना गाविस हाल ताजाकोट गाउँपालिका–५ मा कार्यरत वडासचिव गोपालचन्द्र लामा आर्थिक वर्ष २०७३-७४ को सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम हिनामिना गरी २०७४ असोजदेखि हालसम्म बिनासूचना कार्यालयमा अनुपस्थित रहेका थिए ।

सचिवद्वय गोपालचन्द्र लामा र रामप्रसाद देवकोटाले जिल्ला समन्वय समितिबाट आव २०७३÷७४ का लागि निकासा भएको पुँजीगत अनुदान, सामाजिक सुरक्षा भत्ता र सञ्चालन अनुदानसमेतको रकम सम्बन्धित कार्यालयका बैंक खाताबाट निकाली आफ्नो व्यक्तिगत खातामा राखेर दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई भत्ता नदिएको, बढी निकासा भएको रकम राज्यकोषमा फिर्ता नगरेको, योजनाको रकम भुक्तानी नगरी खर्च लेखेको तथा लेखापरीक्षणसमेत नगराएको पाइएको छ । सचिव लामाले आव २०७३-७४ को साविक कालिका, मैला र मदना गाविसको सामाजिक सुरक्षा भत्तातर्फ ३९ लाख १३ हजार, साविक मैला गाविसको पूँजीगत खर्चतर्फ २२ लाख ८१ हजार ४७ र साविक कालिका र मदना गाविसको चालू खर्चतर्फ १८ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै, सचिव देवकोटाले सामाजिक सुरक्षातर्फ २२ लाख ६५ हजार, सञ्चालन अनुदानतर्फ ६ लाख ५६ हजार र पुँजीगत खर्चतर्फ तीन लाख ९९ हजार गरी जम्मा ३३ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।
यस्तै दोलखा, कालिञ्चोक गाउँपालिका–९ का वडा कार्यालयका सब–इन्जिनियर रामनरेश यादवविरुद्ध पनि आइतबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भूकम्पपीडितले प्राप्त गर्नुपर्ने दोस्रो किस्ताबापतको रकमको सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले नौ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिनअघि पक्राउ गरेको थियो ।

आयोगले जिल्ला प्राविधिक कार्यालय गौरका इन्जिनियर अजयकुमार ठाकुरलाई असार २२ गते ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । एक विद्यालयको पर्खाल र बाटो निर्माणको काम सकिएपछि अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने क्रममा इन्जिनियर ठाकुरले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।
(रासस)

प्रकाशित समय २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु