गृहपृष्ठ निहारिका र ज्ञानमणिलाई योगमाया सम्मान
निहारिका र ज्ञानमणिलाई योगमाया सम्मान
यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ । त्यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको छ ।
नेपाल स्रष्टा समाजले समाज सुधारक योगमायाका नाममा योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ देखि र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष २०७५ मा स्थापना गरेको हो । यी दुवै सम्मानहरु आगामी साउन ७ गते हरिशयनी एकादशीका दिन एक समारोहबीच प्रदान गरिने समाजले जनाएको छ ।
वि.सं. १९९८ असार २२ गते हरिशयनी एकादशीकै दिन योगमायाका नेतृत्वमा उनीसहित ६८ जनाले तत्कालीन सांस्कृतिक बेथितिका विरुद्धमा अरुण नदीमा जलसमाधि लिएका थिए । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान समाजका अध्यक्ष पवन आलोकले दुई लाखको अक्षयकोष स्थापना गरेका थिए । साहित्यकार रमा शर्माले हालै थप एक लाख रुपैंया प्रदान गरी अक्षयकोष तीन लाखको भएको छ । सम्मानको राशी २५ हजार १ सय ११ रहेको छ ।
यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपाने र केदारप्रसाद न्यौपानेले यसै वर्ष स्थापना गरेका हुन् । यसको अक्षयकोषमा दुई लाख रहेको छ । उक्त पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ ।
(रासस)
प्रकाशित समय २०:२६ बजे