गृहपृष्ठ चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

कविहरूद्वारा कविताको धागोले उनेर समृद्धिको माला उपहार

pm1-newskarobar चन्द्रागिरिमा कविता लेख्दै प्रधानमन्त्री । तस्बिर : रासस

 

‘सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ?
देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?’

प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिस्थित भालेश्वरको काँखमा रहेको सभाहलमा काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली एवं स्वदेश र विदेशका वरिष्ठ साहित्यकारहरु, सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफ्ना कानलाई अढेस लगाइरहेका थिए ।

आफुले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा आइतबार ‘चन्द्रागिरिबाट समृद्धिका स्वर’ सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गरे ।

कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्द्रागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्म मौरी झैँ समृद्धिको लागि काम गर्न आग्रह गरेका थिए ।

त्यसैअनुरुप कविहरुले पनि श्रम, सीप, सिर्जना, स्वदेशमा रोजगार, आपसी एकता, प्राकृतिक सम्पदाको उपयोग, कूशासनको अन्त्य आदि विषयलाई कविताको धागोले उनेर समृद्धिको माला उपहार प्रदान गरेका थिए ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्द्रागिरि सिर्जनायात्रामा भेला भएका थिए । सम्मिलन आयोजनाका परिकल्पनाकार प्रधानमन्त्री ओली पहिलो र अन्तिम दिन स्रष्टाहरुको साथ रहे ।

प्रधानमन्त्रीसँगै वरिष्ठ साहित्यकार, चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल पनि मञ्चमा बसेर कविता श्रवणबाट मन्त्रमुग्ध भएका थिए । कविता फुरेमा कार्यक्रमको अन्त्यसम्म आफूले पनि कविता सुनाउने प्रधानमन्त्रीको उद्घोषले सहभागीमा अर्को उत्सुकता पनि पैदा भइरहेको थियो ।

छिनछिनमा परिवर्तन हुने चन्द्रागिरिको वातावरणलाई नियाँल्दै नयाँ समृद्धिको सपना देख्ने कविहरुले घाम, पानी, कुहिरोको दृष्यलाई पृष्ठभागमा राखेर हिमाली संस्कृति र सभ्यताको झलक पनि प्रस्तुत गरेका थिए ।

काठमाडौंका कवि डा. रामप्रसाद ज्ञवालीले भाका हालेर सुमधूर स्वरमा यसरी कविता भन्नेका थिए ।
‘उड्दैछन् पुतली स्वयम् सुर लिई आकाशमा फर्रफर
नेपाली यदि स्वाभिमान छ भने आफैँ उठाऊ शिर ।’

गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेलले शार्दुलविक्रीडित छन्दमै थपे,
‘ऊर्जा छैन विदेशमा कहरले नेपालको तागत
के समृद्ध बनाउने रहर यो डाकेर अभ्यागत ?’

प्रदेश नं ५ को अर्घाखाँचीका कवि बुँद रानाले गजलबाट समृद्धिको तीर्खा पोखेका थिए । उनले गजलमार्फत् भने,
‘अरु छैन धोको यति गर्न पाउँ
वतनको सिपाही भई मर्न पाउँ

चुनौतीहरुको छ जंघार चर्को
नमानेर झर्को सधैँ छर्न पाउँ ।’

कविहरु डिएम कन्दङ्वा, आभाष सेतु सिंह, प्रकाश चापागाईं, लक्ष्मी माली, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुराम कडरिया, तुल्सी शर्माले समृद्धिका स्वरमा आफ्ना सिर्जना मिसाएका थिए ।

सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफ्ना रचना प्रस्तुत गरे । भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जिलिङका कर्ण विरह, खस्र्याङ्की उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्री एवं बंगलादेश, थाइल्याण्डलगायत मुलुकका सहभागी कविले कविता प्रस्तुत गरेका थिए । सम्मिलनमा आजै चन्द्रागिरि घोषणापत्र जारी गरिनेछ ।

(प्रकाश सिलवाल/रासस)

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु