गृहपृष्ठ होस् गर्नुहोस्, बैदेशिक रोजागरीमा ठगिनुहोला
होस् गर्नुहोस्, बैदेशिक रोजागरीमा ठगिनुहोला
सरकारले बैदेशिक रोजगारका लागि खुला गरिएका १ सय १० राष्ट्रमा उत्तर कोरिया पर्दैन । तर, पनि आकर्षक तलवको लोभ देखाई कृषि फर्ममा काम लगाई दिने बहानामा जनही पाँचलाख रुपियाँ ठगी गर्ने गिरोह राजधानीमा नै सक्रिय रहेको पाइएको छ ।
मकाउ खुला गरिएको ‘टापु’ मुलुक भए पनि पानी जहाजमा काम लगाइ दिने भन्दै आकर्षक तलवको प्रलोभ देखाइ ठगी गर्ने गिरोह त्यतिकै सक्रिय छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैदेशिक रोजगारको प्रलोभन देखाइ उत्तर कोरिया र मकाउ पठाउने नाममा ठगी गर्ने यो दुईवटै समूहका सदस्यलाई पक्राउ गरेको छ ।
ब्यूरो प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्काले भने, ‘बैदेशिक रोजगारका नाममा ठग्नेभन्दा पनि ठगिने व्यक्ति सचेत हुनुपर्ने आवश्यकता छ । बैदेशिक रोजगारका लागि उत्तर कोरिया खुला छैन भन्ने कुरा जान्दाजान्दै पनि पैसा खर्चिनेहरूका कारण ठगीको समस्या बढेको हो ।’
गरिवी तथा बेरोजगारभन्दा अर्काको देखासिकी र दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको सङ्ख्या धेरै छ, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भन्नुभयो, ‘ठगी कतिपयका लागि ‘आयआर्जन’ को मुख्य पेशा बनेको छ ।’
यसअघि ब्यूरो प्रहरीले ब्राजिलको ग्रीन कार्ड उपलब्ध गराइ दिने भन्दै पाँचरछ जनाको समूहलाई भारतको दिल्ली पु¥याई हप्ता दिनसम्म अलपत्र पारी फरार सुर्खेतका सागर भन्ने लिलबहादुर मल्ललाई पक्राउ गरेको थियो । प्रहरी अधिकारीका अनुसार आर्थिक प्रलोभनका ठग्नेहरूको समूह हावी भएको हो ।
बैदेशिक रोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलव सुविधा र कल्पना नगरेको मुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएको छ । उपत्यकामा सक्रिय दलालहरूले बैदेशिक रोजगारीको ठगीलाई पेशाकै रूपमा अपनाउने गरेका छन् ।
बैदेशिक रोजगारीमा हुने ठगीको सम्वन्धमा बैदेशिक रोजगार विभाग, प्रहरीको सिआईवी र महानगरीय प्रहरी अपराध महाशाखाले उजुरी सुन्ने गरेको छ । यी निकायहरूमा प्रत्येक दिन ठगीको उजुरी आउने गर्छन । बैदेशिक ठगीमा ब्यक्तिगत र संस्थागत दुबैको संलग्नता देखिएको छ ।
अपराध महाशाखा प्रमुख सिंहका अनुसार अन्य अपराधभन्दा ठगी अपराधको जालो चुनौतीपूर्ण ढङ्गले फैलिएको छ । महाशाखाका प्रत्येक दिन एकलाख रुपियाँभन्दा माथि रकम उल्लेख गरिएको १० वटा भन्दा बढी उजुरी पर्ने गर्छन । प्रमाणको अभावमा ठगीको कानुनी उपचार फितलो हुन जान्छ ।
त्यस्तैं, बैदेशिक रोजगार विभागमा पनि यस्तै समस्या देखिएको छ । विभागले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार, एकवर्षमा एक अर्ब ५२ करोड रुपियाँ विगो दावी सहित दुईहजार १२९ वटा ठगीका मुद्दा दर्ता भएका छन् । ती मुद्दामध्ये एकहजार २० संस्थागत छन् भने अन्य ब्यक्तिगत रहेका छन् ।
प्रकाशित समय ०७:५२ बजे

















