गृहपृष्ठ इरानी नेतालाई भेट्न ट्रम्प तयार

इरानी नेतालाई भेट्न ट्रम्प तयार

तीव्र ‘वाकयुद्ध’ चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी राष्ट्रपतिलाई भेट्न आफू तयार रहेको बताएका छन् । अधिकारीहरुका अनुसार उनी इरानसँग वार्ता गर्न चाहान्छन् । ट्रम्पले ‘विना कुनै पूर्वशर्त’ र ’जुनसुकै बेला’ भेटवार्ताका लागि इरानी नेताहरूलाई प्रस्ताव पनि गरेका बीबीसीले उल्लेख गरेको छ ।

‘उनीहरु चाहान्छ भने म जोसुकैलाई भेट्नसक्छु,’ ट्रम्पले संवाददाताहरुसँग भनेका छन्, ‘म वार्तामार्फत नै समाधान खोज्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु ।’

जुलाई पहिलो साता ट्रम्प र इरानका राष्ट्रपति हसन रुहानीले एकअर्कालाई लक्षित गरी धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । यद्यपि, अहिले आएर ट्रम्पले आफू रुहानीसँग भेटवार्ताका लागि तयार रहेको बताउनुले उनी लचिलो देखिएको पुष्टि भएको विश्लेषकहरुले बताएका छन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिका गएको मे मा बाहिरिएको थियो । इरानको परमाणु कार्यक्रम नियन्त्रण गरी शान्ती स्थापित गर्ने प्रयासको रुपमा रहेको सम्झौताबाट ट्रम्पले अमेरिकालाई बाहिर निकालेका थिए ।

यो सम्झौता अनुसार इरानले परमाणु कार्यक्रम बन्द गर्दै जाने तथा अमेरिकाले प्रतिबन्ध हटाउँदै जाने तय भएको थियो । इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बावजुद वाशिङटनले केही दिनभित्र तेहरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ । मध्यपूर्वमा इरानका गतिविधिलाई लिएर अमेरिका निकै असन्तुष्ट देखिन्छ । अमेरिका इरानका दुई प्रतिद्वन्द्वी मुलुक इजरायल र साउदी अरेबियाको साझेदार हो ।

ट्रम्पको प्रस्तावपछि रुहानीका एक सल्लाहकारले ‘पारमाणविक सम्झौतामा फर्केमा’ र ’इरान राष्ट्रका अधिकारको सम्मान गरेमा’ वार्ता सम्भव हुने आशयमा ट्वीट गरेका छन् । ट्रम्पको प्रस्ताव इरानले स्वीकार गरेमा सन् १९७९ को इरानी क्रान्तिपछि अमेरिकी र इरानी नेताहरूबीच पहिलो पटक भेटवार्ता हुनेछ । यसअघि वाकयुद्धकै बीचमा ट्रम्पले उत्तर कोरियाली नेता किम–जङ–उनसँग भेट्ने प्रस्ताव गरेका थिए । जुन वार्तालाई ऐतिहासिक र सफल भनिएको छ

प्रकाशित समय ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु