गृहपृष्ठ सरकारले सपना मात्रै बाढ्यो : महामन्त्री कोइराला
सरकारले सपना मात्रै बाढ्यो : महामन्त्री कोइराला
फाइल तस्बिर
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको कार्यप्रगति सपना बाँड्नेमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । ‘पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ,’ कोइरालाले भने ।
नेपाल महिला संघ केन्द्रीय कार्य समितिले बुधबार नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान सरकार विकासमा भन्दा सपना बाँड्नेमा केन्द्रित भएको दावी गरे ।
‘अत्यधिक मूल्य वृद्वि भइरहेको छ । जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिरहेको छ,’ उनले भने, ‘कर नबढाउन कांग्रेसले जितेका स्थानीय तहमा हामीले निर्देशन गरिसकेका छौं ।’ कांग्रेसले जितेका स्थानीय तहमा कर वृद्धि नगर्ने पार्टीको आधिकारिक धारणा रहेको उनले बताए ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नीति र विधिअनुरुप पार्टी चल्न नसक्दा समस्या भएको बताए । उनले भने, ‘हामी विधि र विधानअनुसार चल्न सकेनौं, जसका कारण हामीभित्र समस्या देखिएको छ । अब त्यो समाधानको बाटोउन्मुख भइसकेको छ ।’
प्रतिनिधि सभाका सांसद एवं पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले पार्टी र सङ्गठन विधिले चल्न नसक्दा तल्लो तहसम्मका संरचना कमजोर भएको उल्लेख गरे । अब नीति र विधिलाई चुस्त बनाएर अघि बढ्ने उनको दावी थियो । ‘हाम्रा संयन्त्रहरु कमजोर भएका छन्, पार्टीको महासमिति बैठक बोलाएर तत्काल समस्याको समाधानमा कांग्रेस जानेछ,’ उनले भने ।
प्रकाशित समय १९:१५ बजे

















