गृहपृष्ठ जनप्रतिनिधिले नै सार्वजनिक जग्गा मिचेर व्यक्तिगत भवन बनाए
जनप्रतिनिधिले नै सार्वजनिक जग्गा मिचेर व्यक्तिगत भवन बनाए
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका जनप्रतिनिधि बिक्कीजंग राणाले सरकारी जग्गा मिचेर व्यक्तिगत भवन बनाएका छन् । जनप्रतिनिधि हुँदा भ्रमण, बैठक भत्ता र सार्वजनिक निर्माणका नाममा लिएको पेस्की वर्षौंसम्म नतिरेर राज्यकोषको दुरुपयोग गरेका राणाले पदच्युतपछि समेत राज्यको सम्पत्ति अतिक्रमण जारी राखेका हुन् ।
स्थानीय उपभोक्ता समितिका अध्यक्षसमेत रहेका राणाले पदीय दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हडपेको स्थानीय बताउँछन् । काठमाडौं महानगरपालिका वडा नम्बर १७ का तत्कालीन अध्यक्ष राणाले एक आनाभन्दा कम जग्गामा चार आना ओगटेर भवन बनाएका छन् । तीन वर्षअघि नै अनुमति र निर्माण सम्पन्न प्रमाणपत्र लिएका राणाले भवन निर्माण भने अहिले गरिरहेका छन् ।
बूढानीलकण्ठ नगरपालिका–३, रुद्धेश्वर चोकको मालपोत नक्सा अल्फाबेट ‘क’ मा राणाको १०२९ कित्ता नम्बरमा जग्गा छ । उनको कुल जग्गा जम्मा २६० वर्गफिटमात्र छ । यो एक आनाभन्दा कम जग्गा हो । तर, उनले मालपोतको नक्सामा देखिने राजकुलो अर्थात् ‘नहर’ मिचेर भवन बनाएका छन् । १६ फिट मोहडा भएको जमिनमा बनेको भवनमा आठवटा सटर छन् ।

राणाले झन्डै तीन आना जग्गा राजकुलो मिचेको स्थानीयको आरोप छ । ‘बिक्की राणाको जग्गा नक्साअनुसार २६० वर्गफिटमात्र छ, त्यति जमिनमा आठवटा सटर भएको भवन बनाइएको छ, यो कसरी सम्भव छ ?’ स्थानीय चन्द्रबहादुर श्रेष्ठले भने, ‘नक्सा हेर्दा करिब तीन आना जग्गा मिचिएको देखिन्छ ।’
तीन वर्षअघि नै निर्माण सम्पन्न प्रमाणपत्र
न्युज कारोबारलाई प्राप्त प्रमाणअनुसार राणाले २०७२ भदौ १८ गते सम्बन्धित वडा कार्यालयबाट भवन निर्माणको स्वीकृति लिएका छन् । त्यसको महिना दिनपछि असोज १९ गते वडा कार्यालयले राणाले स्वीकृति लिएको जग्गामा भवन बनेको भनेर निर्माण सम्पन्न प्रमाणपत्र दिएको छ । तर, तीन वर्षअघि निर्माण सम्पन्न भएको भनिएको सो प्रमाणपत्रअनुसारको घर भने बल्ल बनिरहेको छ ।
२०७२ साल असोजमै तत्कालीन वडा कार्यालयका कमचारीको मिलोमतोमा राणाले सरकारी जग्गा दुरुपयोग गर्ने अधिकार पाएको देखिन्छ । ‘पछि संरचना बनाउँदा कुनै बाधा अवरोध नआओस् भनेर सरकारी कर्मचारीले भवन नबनेको ठाउँमा बनिसकेको प्रमाणपत्र दिएको देखिन्छ,’ स्थानीयबासी भन्छन् । यस विषयमा सम्बन्धित वडा कार्यालयमा बुझ्न खोज्दा कोही सम्पर्कमा आउन चाहेनन् ।
नगर प्रमुख भन्छन्– सार्वजनिक जग्गा मिच्नेलाई कारबाही हुन्छ
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले भने सरकारी जग्गा मिचिएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए । रुद्धेश्वर चोकका मुख्य सडक २२ मिटर र साइड सडक ६–७ मिटर रहेको बताउँदै उनले सडक र राजकुलो मिचेको सम्बन्धमा अनभिज्ञता प्रकट गरे ।
आफ्नै ठाउँ भएकाले राजकुलो पहिले रहेको आफूले पनि देखेको उनले बताए । ‘कस्तो र कहाँ सरकारी जग्गा मिचिएको छ, अध्ययन गर्छौं,’ नगर प्रमुख खरेलले भने, ‘सार्वजनिक जग्गा अतिक्रमण भएको पाइए छानबिन गरी कारबाही गर्छौं,’
प्रकाशित समय २०:०९ बजे

















