गृहपृष्ठ किन हुँदैछ बूढीगण्डकीमा लुछाचुँडी ?
किन हुँदैछ बूढीगण्डकीमा लुछाचुँडी ?
आशा कम, आशंका धेरै
९ जेठ २०७४ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना विस्तृत डिजाइन, निर्माण र लगानीसमेत गर्ने (ईपीसीएफ) खाकामा बनाउने सैद्धान्तिक सहमति दियो । रातारात यो निर्णय गराएका प्रचण्डले प्रधानमन्त्री पदबाट भोलिपल्टै अर्थात् जेठ १० मा राजीनामा दिए ।
२१ जेठ २०७४ मा तत्कालीन माओवादी–कांग्रेस गठबन्धनको कामचलाउ सरकारले यो परियोजना ईपीसीएफ मोडलमा बनाउन सीजीजीसीसँग समझदारीपत्रमा हस्ताक्षर गर्यो । त्यतिबेला प्रतिपक्षमा रहेको तत्कालीन नेकपा एमालेले बिनाप्रतिस्पर्धा सीजीजीसीलाई परियोजना सुम्पने सरकारको निर्णयको औपचारिक विरोध गरेको थिएन । पहिलोपटक प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा गएका तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले सीजीजीसीको कार्यालयमै पुगेर कम्पनीका अधिकारीहरूसँग भेटवार्ता गरेकाले तत्कालीन एमालेको मौनतालाई धेरैले अस्वाभाविक मानेका थिएनन् पनि। त्यसपछि ओली सीजीजीसीलाई नै परियोजना दिने पक्षमा उभिए ।
प्रचण्डकै समर्थनमा २२ जेठमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनै देउवाले २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा समूहलाई दिने प्रचण्ड सरकारको निर्णय खारेज गरिदिए । ‘अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग सम्झौता गरेको पाइएको थियो,’ तत्कालीन ऊर्जामन्त्री कमल थापा भन्छन्, ‘फेरि त्यतिबेला संसदीय समितिहरुकाे निर्देशन पनि थियो, त्यसैले खारेज गरिएको थियो ।’
त्यसपछि सरकारले बूढीगण्डकी आयोजना स्वदेशी पुँजीमै बनाउन के–के गर्नुपर्छ भन्नेबारे अध्ययनका लागि योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा एक समिति बनायो । नेपाली जनताले इन्धन किन्दा तिरेको करबाट र अन्य नेपाली संस्थाहरुको सामान्य लगानीयोग्य पुँजीबाट नै यो आयोजना बन्नसक्ने सुझावसहितको प्रतिवेदन सो समितिले बुझायो । त्यसपछि इन्धन कर भनेर पाँच प्रतिशत कर पनि लिन थालियो ।
नयाँ संविधानअनुसार भएकाे तीन तहका निर्वाचनपछि फेरि मुलुक नेपाल कम्युनिस्ट पार्टी नेकपाको हातमा गयो । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि बूढीगण्डकीबारे अन्तरविरोधी निर्णय गरिदिएका छन् । गेजुवाबाट खोसेर बूढीगण्डकी स्वदेशी पुँजीमै निर्माण गर्ने देउवा सरकारको निर्णय १० महिनापछि ओलीले उल्ट्याइदिएका छन् । अहिले ओली र प्रचण्ड एउटै पार्टीमा छन् ।
यी माथिका दृष्टान्तले बूढीगण्डकी आयोजना राजनीतिक हस्तक्षेप र सरकार बदलिएपिच्छे हुने अन्तरविरोधी निर्णयले थिलथिलिएको पुष्टि हुन्छ । सत्तारुढ दलका शीर्ष नेताहरुको संशयपूर्ण निर्णयले बूढीगण्डकी आयोजनाबारे कैयौं प्रश्न जन्माएको छ ।
ओलीको बल
प्रधानमन्त्री केपी शर्मा ओलीले असारमा चीन भ्रमणमा जानुअघि नै सीजीजीसीलाई परियोजना दिन खोजेका थिए । तर, प्रक्रिया पुर्याउन खोज्दा केही ढिलाइ भयो । सीजीजीसीले १ भदौ २०७५ मा परियोजना निर्माण गर्न इच्छासहित आयोजना निर्माण गर्ने आधारपत्र र निवेदन मन्त्रिपरिषद् कार्यालयमा दिएको थियो । यसैका आधारमा मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सीजीजीसीसँग वार्ता गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चिनियाँ समाचारपत्र साउथ चाइना मर्निङ पोस्टलाई दिएकाे अन्तर्वार्तामा ओलीले बूढीगण्डकी फेरि गेजुवालाई दिने बताएका थिए । तर, ऊर्जामन्त्री वर्षमान पुनले भने बूढीगण्डकी गेजुवालाई दिने विषय थप छलफल गर्न चाहेका थिए । ओलीले ऊर्जामन्त्रीको असहमतिका बीच ईपीसीएफ (इन्जिनियरिङ, खरिद, निर्माण, फाइनान्स) मोडलमा परियोजना निर्माणका लागि गेजुवालाई नै छानेका हुन् ।
भारत र चीनका सञ्चारमाध्यमले बूढीगण्डकीबारे सरकारपिच्छे हुने निर्णयलाई भू–राजनीतिक प्रभावसँग जोड्दै आएका छन् । तर, भारतले खासै नरुचाएका भनेर बुझेका प्रधानमन्त्री ओलीले चीनको विश्वास जित्न यो परियोजना गेजुवालाई दिएको अड्कलबाजी पनि नभएको होइन । यसमा अर्बौंको चलखेल भएको आशंका पनि छ । हालैमात्र कांग्रेस केन्द्रीय समितिको बैठकमा बूढीगण्डकी आयोजना गेजुवालाई दिँदा सरकारले ३५/४० अर्ब रुपैयाँ ‘डिल’ गरेको दाबी नेताहरुले गरेका छन् ।
तर, ऊर्जामन्त्री वर्षमा पुन भने सरकारको अहिलेको कदम विशुद्ध व्यावसायिक भएको बताउँछन् । ‘यसमा न कमिसनकाे कुरा गाँसिएको न त भू–राजनीतिक मुद्दा नै, यो परियोजनाबाट भारतले पनि लाभ पाउँछ,’ उनले भने ।
संशय किन ?
बूढीगण्डकी आयोजनाबारे सरकार बदलिएपिच्छे हुने निर्णयहरुले केही संशय जन्माएकाे छ । हालैमात्र सरकारले गरेको निर्णय पनि प्रक्रियासंगत देखिँदैन ।
यसमा चारवटा ‘फल्ट’ देखिन्छन् । पहिलो, मन्त्रिपरिषद्ले गरेको निर्णय प्रचलित नियमकानुनसम्मत छैन । दोस्रो, खुला प्रतिस्पर्धा गराइएको छैन । तेस्रो, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको छ । र, चौथो गेजुवा आफैँ नेपालको जलविद्युत् क्षेत्रमा असफल सावित भएको कम्पनी हो । यसबाहेक परियोजना हात पार्न सीजीजीसीका अधिकारीहरूले गरेको पहल र जगाएको हुटहुटीले आशंका उत्तिकै उब्जाएको छ । सीजीजीसीले परियोजना अलपत्र पार्ने हो कि भन्ने आशंका एकातिर छ भने सीजीजीसीलाई यसरी मरिहत्ते गरेर परियोजना निर्माणको जिम्मा किन दिइयो भन्ने प्रश्न अर्कोतिर ।
‘यहाँ सानोतिनो रकमको चलखेल होइन, ३५/४० अर्ब रुपैयाँ गेजुवाबाट यो सरकारले लिएको छ,’ आइतबार केन्द्रीय समिति बैठकमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘नभए बिनाप्रतिस्पर्धा, कानुन मिचेर ठेक्का दिनलाई गेजुवा कुनै चमत्कार गर्ने कम्पनी होइन ।’
त्यसो त, जलस्रोत विज्ञहरु पनि प्रतिफल कम हुने र सीजीजीसीको अहिलेसम्मको छनक हेर्दा परियोजना निर्माण चरणमा गइहाल्नेमा विश्वस्त छैनन् । पूर्वजलस्रोत सचिव शीतलबाबु रेग्मी बूढीगण्डकी बनाउने सीजीजीसीको नियत नभएको बताउँछन् । ‘जसरी हुन्छ फाइदा कुम्ल्याउने ध्येय बढी देखिन्छ,’ उनले भने । करिब ८ प्रतिशतमात्रै प्रतिफल रहेको एवं बनाउने नियत नै नभएकाले यो परियोजना अघि बढ्न नसक्ने उनको बुझाइ छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरे भने परियोजना निर्माण थाल्न सीजीजीसीसँग वार्ता गरेर अघि बढ्ने बताउँछन् । परियोजनाको लागत अनुमानका विषयमा पनि अनेक आशंका उब्जिएका छन् । ‘सीजीजीसीले बिनाप्रतिस्पर्धा पाएको परियोजनाको प्रस्तावित लागत धेरै भएको र यो अझ बढ्न सक्छ,’ यो मुद्दालाई विशेष अध्ययन गरेका तत्कालीन लेखा समितिका सभापति डोरप्रसाद उपाध्याय भन्छन् ।
नेपालमा ईपीसीएफ मोडलमा सरकारले अहिलेसम्म परियोजना निर्माण गरेको छैन । यसअघि, ईपीसीएफको नीति नै नबनी परियोजना गेजुवालाई दिइएको भन्दै विरोध भएको थियो । नेपालीका लागि कुनै आयोजना राष्ट्रिय गौरवको त्यसबेला हुन्छ जब सरकार र नेपाली जनताले आफ्नो पुँजी, सीप र क्षमताको भरपुर योगदान गर्ने अवसर पाउँछन् । र, आयोजनाप्रति अपनत्वको महसुस गर्छन् । ‘यसलाई अहिले जुन प्रकारले इपिसीएफ मोडलमा निर्माण गर्ने गरी विदेशी कम्पनीलाई खाली चेक दिए जसरी दिइएको छ, त्यो राष्ट्रिय गौरवको आयोजनाको मर्म र भावनाविपरीत छ,’ बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिका पूर्वअध्यक्ष डा. लक्ष्मी देवकोटा प्रश्न गर्छन्, ‘एकातिर, राष्ट्रिय गौरवको आयोजना भन्ने र अर्कोतिर, लम्पसार पर्ने प्रवृत्तिले कसरी राष्ट्रिय स्वाभिमानको रक्षा हुनसक्छ ?’
सरकारले बूढीगण्डकीको विस्तृत अध्ययन तथा डिजाइन अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट विधि तथा प्रक्रिया पुर्याएर छानेको कम्पनी फ्रान्सको ट्रयाक्टबेल इन्जिनियरिङबाट गराइसकेको छ । टेन्डर डकुमेन्ट पनि तयार छ । ‘तयारी अवस्थाको आयोजना यथाशीघ्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएर निर्माणमा जानुपर्ने हो,’ डा. देवकोटा भन्छन्, ‘तर बिनानीति र कार्यविधि ईपीसीएफ मोडेलमा जानु यो वा त्यो बाहनामा आयोजना ढिलो गर्नु हो । वर्षौं र अर्बौं रुपयाँको बर्बादी हो ।’
गेजुवाको छवी
सरकारी निर्णयमाथि प्रश्न उठ्नुको अर्को कारण हो गेजुवाको छवी । गेजुवा त्यही कम्पनी हो, जसले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ को कार्य समयमा सम्पन्न गरेन । चिलिमे जलविद्युत आयोजनाको काम नसकिँदै धरौटी रकम जफत गरी ठेक्का तोड्नुपर्यो । । माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा त कालोसूचीमा पर्यो । ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण कार्य ११ वर्षमा बल्ल पूरा गर्यो । यसमा यो कम्पनीले एक अर्ब १६ करोड रुपयाँ कर छलीजस्तो गैरकानुनी काम गर्न पुग्यो । तर पनि गेजुवालाई सरकारले बूढीगण्डकी निर्माणको जिम्मा दिन मरिहत्ते गर्नुले आशंका र प्रश्न उब्जाएको हो ।
के हुन सक्छ समाधान ?
जलस्रोतविज्ञ सूर्यनाथ उपाध्याय निर्माण सक्नुपर्ने निश्चित कार्यतालिका तथा लगानी रकमको सुनिश्चितता बनाएरमात्रै सीजीजीसीसँग समझदारी गरिनुपर्नेमा जोड दिन्छन् । बूढीगण्डकी विकास आयोजनाका पूर्वअध्यक्ष डा. देवकोटा नेपाली पुँजी, श्रम र सीपमा बूढीगण्डकीको निर्माण र पुनर्बास तथा पुनःस्थापनाका काम तदारुकताका साथ समानान्तर रूपमा अघि बढाउने विधि नै यो आयोजना विकासको आगामी मार्गचित्र हुनुपर्ने बताउँछन् ।
देउवा नेतृत्वको सरकारले स्वदेशी पुँजीमै बूढीगण्डकी निर्माण गर्न सकिने/नसकिनेबारे अध्ययन गर्न गठन गरेको तत्कालीन अध्ययन समितिका संयोजक डा. स्वर्णीम वाग्ले बूढीगण्डकी निर्माण गर्न विदेशीको मुख ताक्न नपर्ने बताउँछन् । ‘नेपाली जनताले इन्धन किन्दा तिरेको कर र अन्य नेपाली संस्थाको सामान्य लगानीयोग्य पुँजीबाट नै यो आयोजना बन्नसक्ने विश्वसनीय प्रतिवेदन सरकारले पाएको छ,’ उनी भन्छन्, ‘त्यसै आधारमा अघि बढ्ने हो भने कसैलाई गुहार्नुपर्दैन, आफ्नै लगानीमा बनेको गौरव गर्नलायक आयोजना पनि हुन्छ ।
तत्कालीन लेखा समितिका सभापति डोरप्रसाद उपाध्याय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यथाशीघ्र सुपरभिजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य सुुरु गर्नुपर्नेमा जोड दिन्छन् । ‘होइन, सरकारचाहिँ स्वेदशी पुँजीमा आयोजना बनाउन सकिँदैन भन्ने निष्कर्षमा पुगको हो भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत ठेक्का प्रक्रिया अघि बढाउनुपर्छ ।’
बूढीगण्डकी आयोजना निर्माणको विषयलाई राष्ट्रिय बहसको विषय बनाउनुपर्ने उनी बताउँछन् । ‘राष्ट्रिय गौरवको आयोजना भएकाले यसको निर्माण कसरी गर्ने, स्रोत कसरी जुटाउने भन्नेबारे सरकारले बहस चलाउनुपर्छ,’ उपाध्याय भन्छन्, ‘हचुवाको भरमा दिने निर्णयले कालान्तरमा सरकारको बदनामी र मुलुकलाई घाटा पनि हुन सक्छ ।’
२०४० सालमै सम्भाव्यता अध्ययन भएको बूढीगण्डकी आयोजना समस्यारहित ढंगबाट सम्पन्न भएमा नेपाललाई एकैपटक लोडसेडिङ र ऊर्जामा भारतीय निर्भरताबाट मुक्त पार्न सक्ने आयोजना हो । सबभन्दा ठूलो जलाशययुक्त, सबभन्दा उपयुक्त भूगोल र सजिलो यो आयोजना आफैं बनाउने भनेर सरकारले २०६८ सालमै ’राष्ट्रिय गौरव’ को सूचीमा राखेको थियो । तर, सरकार, राजनीतिक दल र कतिपय कर्मचारीको स्वार्थले बूढीगण्डकी निर्माणको काम अलपत्र पर्दै आएको छ ।
प्रकाशित समय ०८:३९ बजे

















