गृहपृष्ठ दसैंमा मालश्री धुन किन बजाइन्छ ?
दसैंमा मालश्री धुन किन बजाइन्छ ?
मालश्री धुन हिन्दू र आमनेपालीकै पहिचान हो, जहाँ देवी नवदुर्गाको आराधना गरिएको छ : संस्कृतिविद्
नेपालीहरुको मुख्य चाड बडादसैंंको मध्य छ । दसैंं आउनुअघिदेखि दसैंलाई सम्झाउने र दसैंमा गुञ्जिने गर्छ मालश्री धुन । विषेशगरी दसैंमा बजाइने यो धुन घटस्थापनाको दिनदेखि नै टेलिभिजन र रेडियोमा बज्ने गर्छ । यो धुन विभिन्न वाद्यवाधनमा सुन्न पाइन्छ ।
मालश्रीको सरगमलाई धुनमा मात्रै नभएर गायनमा पनि प्रस्तुत गर्ने गरिएको छ । दसैंको आगमनसँगै मालश्री धुन रेडियो, टेलिभिजन एवं मठमन्दिर र शक्तिपिठहरूमा गुन्जिने गर्छ । प्राचीनकालमा सुरु भएको मानिने मालश्री धुन अहिले पूर्वदेखि पश्चिमसम्म लोकप्रिय छ ।
करिब साढे चार सय वर्षअघि नेवार समुदायबाट मालश्री धुन बजाउन सुरु भएको बताइन्छ । पाटनका राजा सिद्धिनरसिंह मल्लको पालादेखि यो धुनको प्रचार हुन थालेको किंम्बदन्ती छ । १६औं शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि १२ वटा महिनाहरुकै धुनको सिर्जना भइसकेको थियो ।
यद्यपि, अरु ११ वटा महिनाको धुनभन्दा माल श्री धुन विशेष किसिमको रहेको संस्कृतिविद् तुलसी दिवस बताउँछन् । ‘मालश्री धुन भनेको एक अमूर्त कला हो । यो कसैले छुन सक्ने वस्तु हैन । यो समय सूचक, ऋतु सूचक हो, अरु धुनभन्दा नितान्त फरक छ,’ संस्कृतिविद् दिवस भन्छन् ।
मालश्री धुनमा नवदुर्गाको गुणगान र आराधना रहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । ‘मालश्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रुपमा मान्ने चाडलाई संकेत गर्छ । मालश्री धुन हिन्दू र आमनेपालीकै पहिचान हो, जहाँ देवी नवदुर्गाको आराधना गरिएको छ, यसैले दसैंमा बजाइन्छ ।’
पहिले–पहिले दसैंभरि नै हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा मालश्री धुन बजाउने गरिन्थ्यो । नेवार समुदायले उत्पत्ति गरेको मालश्री धुन अरु राजाको पालामा बज्ने हो कि नबज्ने हो भन्ने चिन्ता थियो । तर, पृथ्वीनारायण शाह राजा भइसकेपछि उनले पनि त्यसलाई निरन्तरता दिए । मालश्री धुनलाई निरन्तरता दिनुमा राजा पृथ्वीनारायाण शाहको ठूलो योगदान रहेको संस्कृतिविद् तुलसी दिवस बताउँछन् ।
साढे चार सय वर्षदेखि बज्दै आएको मालश्री धुन आज पनि उत्तिकै प्रिय छ । अहिलेसम्म निरन्तरता पाइरहेको यो धुनको पछिल्ला पुस्ताले महत्व बुझ्ने हो कि होइन भन्नेमा संस्कृतिविदहरु चिन्तित देखिन्छन् ।
आधुनिक बाजाको प्रयोगले खतरा
दसैंको समयमा देशैभर गुन्जिने मालश्री धुन बजाउन आधुनिक बाजाको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । प्रस्तुति बढे पनि गायन र यसमा प्रयोग हुने बाजा आधुनिक भएपछि मौलिकता मासिने चिन्ता थपिएको हो ।
मालश्री धुन प्रयोग गरेर ठाउँअनुसार गीत गाउने आफ्नै प्रचलन रहेको र शरद ऋतुसँग यसको गहिरो सम्बन्ध रहेको विज्ञहरूको धारणा छ । परम्परागत रूपमा यो धुनमा बाँसुरी, सितार, सारंगीलगायत बाजाको प्रयोग हुन्छ । तर, अहिले आधुनिकतासँगै किबोर्ड, पियानो, गितार तथा कंगोजस्ता बाजाको प्रयोग हुन थालेको छ ।
प्रस्तुति र गुणस्तरमा ध्यान नदिइँदा धुन संकटमा पर्ने शास्त्रीय संगीतका ज्ञाताहरूको चिन्ता छ । जुन रस हो, त्यसअनुसारको भाव व्यक्त गर्न सकिएन भने त्यसमा विकृति बढ्ने शास्त्रीय संगीतका ज्ञाता डा. ध्रुवेशचन्द्र रेग्मी बताउँछन् । मालश्री प्रस्तुतिबारे रेग्मी भन्छन्m ‘बजाउनुपर्छ तर मौलिक बाजा प्रयोग गरेरमात्रै, मालश्री बजाउने नाममा विकृत बनाउनु हुँदैन ।’ कतिपय प्रस्तुत गर्ने वा प्रसारण गर्ने संस्थाहरूले पनि मालश्रीको गुणस्तरतर्फ त्यति ध्यान नदिएको उनको भनाइ छ ।
प्रकाशित समय १९:२४ बजे

















