गृहपृष्ठ वृृद्धाश्रमको दसैं (फोटो फिचरसहित)
वृृद्धाश्रमको दसैं (फोटो फिचरसहित)
जीवनको उत्तरार्ध वृद्धाश्रममा बिसाउँदा
दसैंको आगमनसँगै गाउँबस्तीमा चहलपहल बढेको छ । ओहोरदोहोर गर्नेको लर्को लागेको छ । मुग्लानमा रहेका दाजुभाइ–दिदीबहिनी स्वदेश फर्किएका छन् । काठमाडौंलाई कर्मथलो बनाउनेहरु जन्मघर पुगिसकेका छन् । पाखापखेरीमा सयपत्री र मखमली फूल ढकमक्क फूलेका छन् । बडादसैं सबैको घरआँगनमा भित्रिसकेको छ । वर्षौंपछि घरपरिवार, आफन्त, इष्टमित्र, साथीसंगीसँग भेट्न पाएकोमा सबै मख्ख छन् । उत्साह, उमंग र खुसीले डेरा जमाएको छ । पर्वले के बालक के वृद्ध, सबैलाई छपक्कै छोपेको छ ।
तर, यस्तो ठाउँ पनि छ, जहाँ दसैंको रौनक खासै छैन । छ त केवल अतितका सम्झनाका पोकाहरु । हो, सधैं चहलपहल र मानिसको खचाखच हुने पशुपति क्षेत्र केही दिनयता सुनसान छ । बिहान र साँझ केही भक्तजन पुगे पनि दिउँसोको समयमा पशुपति क्षेत्रमा सन्नाटा छाउँछ ।
०००
समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिभित्र भेटिइन्, काभ्रे पाँचखालकी ७५ वर्षीया पार्वती सापकोटा । हामी पुग्दा उनी बत्ती काट्दै थिइन् । आँखाले धमिलो देखे पनि उनको हात फटाफट चलिरहेको थियो । हामीले उनीसँग कुरा गर्ने जमर्को गर्यौं र नजिक गयौं ।
सञ्चै हुनुहुृछ आमा ?
बाँचिएको छ ! उनले झर्को मान्दै भनिन् ।
यस्ता प्रश्न गर्ने त दिनमै कति आउँछन्–आउँछन् । जसले खोजी गरोस् भन्ने लाग्छ उसको अत्तोपत्तो हुँदैन, जसलाई चिनेको छैन ऊ ‘के छ हालचाल ?’ भन्दै आउँछ । सायद पार्वतीलाई पनि त्यस्तै भएको हुनुपर्छ ।

उनीसँग विस्तारै खुलेर कुरा गर्दै गयौं । आश्रममा बस्न कसको रहर हुन्छ र ! बाध्यता, परिस्थिति र नियतिले उनलाई दुई वर्षअघि आश्रममा ल्यायो । श्रीमानको निधन भएपछि एक्ली भइन् पार्वती ।
‘खै बाबु ! आफूलाई भाग्यमानी भनौं कि अभागी, सन्तान जन्मिएनन्, श्रीमानको निधन भएपछि घरपरिवारबाट अपहेलित हुनुपर्यो, आफ्नो सन्तान नभएपछि हेर्ने कोही भएन, कचकच सुन्न नसकेर आश्रममा आएँ,’ भक्कानिँदै पार्वतीले भनिन्, ‘अखिर सन्तान हुने पनि यही आश्रममा आएका छन् ।’
सन्तान भए पनि पीर नभए पनि पीर । पार्वती केहीबेर मौन रहिन् । जीवनभर सँगै जिउने कसम खाएका श्रीमान् नारायणप्रसाद परलोक भएपछि एक्ली भएकी पार्वती आफू जस्तै च्यातिएका मन लिएर आश्रममा रहेका दौंतरीसँग दसैं मनाउने योजनामा छन् ।
‘दसैं’ शब्द सुन्नेबित्तिकै उनी चुप बसिन् । विगतको यादले हुनसक्छ, उनका आँखा आँसुले टम्म भरिए । काठमाडौैंबाट नजिकै भए पनि उनलाई काभ्रे फर्कने मन छैन । भन्छिन्, ‘अब जति बाचिन्छ यहीँ बसेर बाँच्ने हो ।’ उनको अन्तिम इच्छा पवित्रस्थल पशुपतिमै अन्तिम सास फेर्नेछ ।
०००
सबै ठीकठाक रहन्थ्यो र आफूले सोचेको जस्तो हुन्थ्यो भने ओखलढुंगाकी विद्या दाहाल पनि यतिबेला परिवारसँग दसैं मनाइरहेकी हुन्थिन् । विडम्बना, सोचेजसरी कहाँ चल्छ र जीवन । समयले जता डोर्यायो, त्यतै पानीझैं बग्नुपर्ने मान्छेको चोला । उनको पनि परिवार नभएको होइन, ६३ वर्ष पुगेकी विद्यालाई घरपरिवारको यादले बिछट्टै सताउँछ । तर, परिवारलाई बिर्सन पनि सकेकी छैनन्, सम्झन पनि चाहन्नन् ।

भोलासँग १६ वर्षको उमेरमा उनको विवाह भयो । विवाहपछि एउटी छोरी पनि जन्मिइन् । त्यसपछि झोला बोकेर भोला कमाउन लाउर निस्के । तर, कहिले फर्किएनन् । उतै कान्छी बिहे गरेर बसे । छोरी पनि सानै उमेरमा हिँडी । त्यसपछि एक्ली भएकी विद्यालाई न घरपरिवार न समाजले नै राम्रो दृष्टिले हेर्न थाल्यो । उनलाई त्यो समाजमा बोझ भएर बस्न मन लागेन र पशुपति आश्रममा आइपुगिन् ।
दसैंले गउँघरको सम्झना लिएर आउँछ तर जाने हिम्मत उनीमा छैन । ‘आफन्त भएर के गर्नु ? राम्रो गरेको भए को आउँथ्यो यहाँ ? परिवारसँगै दसैं मनाइहाल्थेँ नि !’ मन अमिलो बनाउँदै उनले भनिन् । विद्या पाँचौं दसैं आश्रममा मनाउँदैछिन् ।
०००
हिजोको जस्तो बागमती कहाँ छ र ! कञ्चन बागमती आज धमिलो भएको छ । धमिलो भएर बग्नु बागमतीको रहर होइन, बाध्यता हो । बागमती जस्तै धमिलो भएको छ, आजका मान्छेको सोच । त्यही सोचका कारण अधिकाशं आमाबाबु आश्रममा बस्न बाध्य छन् ।
काभ्रे रोशीका गोपाल खत्रीको पनि व्यथा उस्तै छ । उमेरले ६९ पुगे । छाला चाउरी परेको छ । शरीरमा बल छैन, थरथर काम्छ । हिँड्न सक्दैनन् । तर, मन अझै पनि बलियो छ उनको । जन्मिदा उनी राम्रै जन्मिए । तर, तीन वर्षको उमेरमा उनलाई रोगले चाप्यो । आजको जस्तो उपचारको व्यवस्था थिएन । गाँउघरमा आमा बुबाले सक्दो नगरेको पनि होइन । उनलाई रोगले शारीरीक रुपमा अशक्त बनायो । दुबै खुट्टाले काम गरेनन् । आमाबुबा बाचुन्जेल त उनले खासै असहज महसुस गर्नुपरेन ।

तर, आमाबुबाको प्राण गएपछि उनी एक्लो भए । परिवारका अन्य सदस्यले उनलाई सहन सकेनन् । अरुको घृणाको पात्र बनेर बस्नुभन्दा जे हुन्छ राम्रैको लागि हुन्छ भन्दै गोपालले बाटो तताए । अन्ततः उनी आइपुगे आश्रममा । आज उनी आफूलाई स्वतन्त्र महसुस गर्छन् । मनमा अनेक पीडा भए पनि बहिर भने दसैंको चङ्गाझैं देखिएका छन् गोपाल ।
०००
मान्छे खुसी हुन भगवानलाई दूध चढाउँछन् । तर, नौ महिना कोखमा राखेर वर्षौं दूध खुवाएकी आमासँग तिनै सन्तान खुसी छैनन् । सन्तानको भविष्यका लागि पसिना बगाउने पौरखी बुबासँग तिनै सन्तान सन्तुष्ट छैननन् । त्यसैले त ती जेष्ठ नागरिकलाई आश्रमले कुरेर बसेको हुन्छ ।
शंकर कारञ्जितको उमेर ८७ पुग्यो । सपनाको सहर काठमाडौंमै जन्मिए । घरबार पनि नभएको होइन उनको । उनका छोरा चाबहिलमै बस्छन् । तर, श्रीमतीको मृत्यु भएपछि उनी आश्रमको सहारा लिन बाध्य भए । पशुपतिको बाटो हुँदै गाडीमा छोरो ओहोरदोहोर गरेको देख्छन् तर उनले बोलाएको छोराले सुन्दैन । कहिलेकाहीँ छोरा भेट्न जान्छन् तर त्यतिले किन पुग्थ्यो र !

मनमा अनेकन चोट भए पनि बाहिर उनले हाँस्न छोडेका छैनन् । जीवनको उत्तरार्धमा रहेका शंकरको साथी चुरोट बनेको छ । ‘स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा छ तर मन मान्दैन,’ फिस्स हाँस्न् भन्छन् शंकर, ‘डराउनलाई अब कति नै बाँचिएला र !’ उनलाई पाउनु र गुमाउनु अब केही छैन । उनले आश्रममा दसैं मनाउन थालेको वर्षौं भयो । खासै योजना केही छैन । ‘सबै मिलेर सामूहिक टीका लगाउने गरेका छौं,’ उनले भने ।
०००
शरीरले काम गर्दा सबैले माया गर्छन । जब छाला चाउरी पर्न थाल्छ, तब आफ्नै सन्तानले पनि टेडो आँखाले हेर्न थाल्छन् । जन्मदिने आमाबुबालाई वुद्धाश्रममा राखेर तिनै सन्तानले आफ्ना छोराछोरीलाई भन्छन्– मेरो देवता, मेरो भविष्यको सहारा ।
एउटै खोलाको पानी खाएका चन्द्रदत्त र पुण्यबहादुर थापा चिया पिउँदै भलाकुसरी गर्दै थिए । केहीबेर उनीहरुका कुरा सुनेर बस्यौं । चाख लाग्दा थिए ऊ बेलाका उनीहरुको कुरा । चन्द्रको घर रसुवा, पुण्यको घर नुवाकोट । चन्द्रमा जस्तै थिए चन्द्र । फरक यति हो– चन्द्रमाले अरुलाई प्रकाश दिन्छ, चन्द्र आफूलाई अँध्यारो महसुस गर्छन् । २२ वर्षको उमेरमा घर–परिवारले जबर्जस्ती ७ वर्षकी बालिकासँग बिहे गराइदिए ।

आफूभन्दा १५ वर्ष सानी बालिकासँग बिहे गरिदिएपछि उनी बिहेको भोलिपल्टै घरबाट निस्किए । त्यसपछि उनी कहिले घर फर्किएनन् । छोरी उमेरको केटीसँग परिवारले विवाह गरिदिएपछि निराश भएका चन्द्रले अर्को बिहे गर्ने आँट गरेनन् । सकिन्जेल त विभिन्न ठाउँमा काम गरे । जब शरीर कमजोर भयो, तब उनी आश्रममा आइपुगे । बिहेले बदलिएको उनको जिन्दगी । दोष आफ्नै भाग्लाई दिन्छन् ।
पुण्यको व्यथा पनि कम छैन । घर पनि बसाले । दुई छोरा पनि जन्मिए । विडम्बना, जेठो छोरा ९ वर्षको भएपछि यो धर्तीबाट बिदा भए । कान्छोले तातेताते भन्न नपाउँदै आँखा चिम्लियो । भविष्यका सहाराले आफूभन्दा पहिले नै सांसर छाडेपछि कुन आमाबुबाको मन नदुख्ला र !

दुई छोरा गुमाएको पीडाले श्रीमतीले पनि संसार छोडिन् । दाइभाइ नभएको पनि होइन, सबै आ–आफ्नो घरजम गरेर बसेपछि पुण्यलाई सहारा दिन कोही भएनन् । त्यसपछि एक्लो भए र सहारा खोज्दै आश्रममा आएपुगे ।
यी केही प्रतिनिधि पात्रमात्र हुन् । आश्रममा रहेका एक सय ७० जनाको आ–आफ्नै कथाव्यथा छ । आश्रममा बसेका जेष्ठ नागरिकका लागि दसैं पीडा बनेर आएको छ ।
०००
जेष्ठ नागरिक इतिहासका साक्षी हुन् । उनीहरु पाठशाला हुन् । ज्ञानको भण्डार हुन् । हामी धेरै कुरा उनीहरुबाट सिक्न सक्छौं । सभ्य समाज निर्माणका लागि जेष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । तर, आधुनिकतासँगै जेष्ठ नागरिक अपहेलित हुँदै गएका छन् । परिवार, समाज र राष्ट्रले जेष्ठ नागरिकको औचित्य महसुस गर्न सकेको छैन ।
‘उहिलेका कुरा खुइले’ भन्न थालेका छन् । समयसँगै परिवर्तन हुनु स्वाभाविक हो । तर, इतिहासलाई मेटेर नयाँ निर्माण सम्भव छैन । जेष्ठ नागरिक बोझ होइन, ओज हुन् । मानिस जन्मन्छ, हुर्कन्छ, शिशु अवस्था, बालक, युवा हुँदै वयस्क अनि वृद्ध हुन्छ । र, एक दिन यो संसारबाट बिदा लिन्छ, यो शाश्वत नियम हो । यसलाई न कसैले रोक्न सक्छ न त छेक्न नै । भोलि आफ्नो पनि बाटो त्यही हो भनेर युवापुस्ताले बुझ्न जरुरी छ । जेष्ठ नागरिकलाई घृणा होइन, माया, ममता र सत्कार गरौं ।
















(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय ०८:२३ बजे

















