गृहपृष्ठ सम्बृद्ध दार्चुलाको आधार: उर्जा, पर्यटन र कृषि
सम्बृद्ध दार्चुलाको आधार: उर्जा, पर्यटन र कृषि

दार्चुला । स्थानीय सरकार गठन भएको झण्डै एकवर्ष पुग्नै लाग्दा दार्चुला जिल्लाका जनप्रतिनिधिहरु सम्बृद्धिको आधारको खोजी शुरु गर्न थालेका छन् । जिल्लालाई सम्बृद्धि बनाउन सकिने आधारहरु बारेमा सुदूरपश्चिम विकास आयोग र जनप्रतिनिधिहरुबीच बहश शुरु भएको हो ।
सुदूरपश्चिम विकास आयोगले दार्चुलाको सम्भावना र सम्बृद्धिको आधारको लागि बहसको थालनी शुरु गरेको हो । केहि समय अघि आयोगले प्रदेश सरकार र नेपाल सरकारलाई समग्र सुदूरपश्चिमको विकासको आधारसहित पत्र बुझाएको थियो । जसमा दार्चुलाको विकासको लागि तीनवटा क्षेत्र प्राथमिकतामा राखिएको सुदूरपश्चिम विकास आयोगका निमित्त निर्देशक भोजराज भट्टले जानकारी दिए । उनका अनुसार दार्चुलाको उर्जा, पर्यटन र कृषि’ प्रमुख सम्बृद्धिका आधार हुन् ।
जलस्रोतको धनी रहेको दार्चुलामा चमेलिया र महाकालीका सहायक नदीमार्फत उर्जाको प्रचुर सम्भावना भएको भट्ट बताउँछन् । चमेलिया ३० मेगावट र नौगाड ८ दशमल ५ किलोवाट विद्युत उत्पादन भइसकेको छ । यसैगरी अपि हाइड्रोपावर कम्पनीले नौगाड दोस्रो साढे ८ किलोवाट उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैगरी अपर चमेलिया ६५ मेगावट, मकरीकोट १० मेगावट, क्षत्तिगाड १०० किलोवाट उत्पादनको तयारी शुरु गरिएको छ ।
मकरीगाडमा उत्पादन हुने १० मेगावट मकरीगाड आयोजना निर्माणको लागि मकरीगाड हाइड्रोपावर प्रालि, हाइड्रो भिजन कम्पनी प्रालि नेपाल र एलटिएल ग्रुप श्रीलंकालाई सानिमा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक तथा सेन्चुरी बैंकले ऋण दिने सम्झौंता भइसकेको छ । तीन वटै बैंकले आयोजनाको लागि एक अर्ब ४७ करोड ४७ लाख ऋण दिने सम्झौंता गरेको छ । दार्चुलाका अन्य सहायक नदीहरुमा गरी विद्युत निकालेर विक्री गर्न सकिने सम्भावना रहेको आयोगले जनाएको छ ।

यसैगरी दार्चुला पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र हो । दार्चुलाको अपि नाम्पा हिमाल, कैलाश मानसरोवर, अपिनाम्पा संरक्षण क्षेत्र, मालिकार्जुन धाम, शैल्यशिखर, लगायतका धार्मिक क्षेत्र पर्यटकीय आकर्षणको गन्तव्य भएको जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले जानकारी दिए । यहाँका जडिबुडीदेखि धार्मिक सम्पादाको मात्रै प्रचार प्रसार गर्न सके सम्बृद्धि आफूसंगै भएको उनी बताउँछन् ।
दार्चुलामा कृषि उत्पादन क्षेत्रको विकास गर्न सके जिल्लाको खाद्यान्न परनिर्भर घटाउन सकिने निमित्त निर्देशक भट्ट बताउँछन् । स्थानीय सरकारले कृषि क्षेत्रलाई व्यवसायिकरणतर्फ लिनुपर्ने उनले बताए । हाल दार्चुलाको कुल खेतीयोग्य जमिन २९ हजार ५ सय ४४ हेक्टर मध्ये २२ हजार ८ सय २५ हेक्टर जमिनमा खेती हुँदै आएको छ ।

खेतीयोग्य जमिनहरुमा समेत सिचाई सुविधा छैन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालसम्म ५ हजार ४ सय ९५ हेक्टर क्षेत्रफलमा मात्रै सिचाई सुविधा छ । खेती बढाउनको लागि सिचाई क्षेत्रमा लगानी बढाउनुपर्ने उनी बताउँछन् ।
मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले दार्चुलामा सडकसँगै कृषि क्षेत्रलाई प्राथमिकता राखिएको बताए । ‘हाम्रो पहिलो वर्ष योजनाको वर्ष हो,’ उनले भने, ‘अहिले विभिन्न गुरुयोजना निर्माणका साथ अघि बढेका छौ, गुरुयोजना अनुसार जिल्लाको विकास र सम्बृद्धितर्फ योजना केन्द्रीत गर्छौ ।’
अपी हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले गाउँपालिकाले अहिले उर्जा र यातायात सँग सँगै पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणको चरण अघि बढेको बताए । सडक पहूँचबाट विकट रहेको गाउँपालिकाले सडकभन्दा पनि पहिलो वर्ष शिक्षा र पर्यटन क्षेत्रमा बजेट केन्द्रीत गरेको उनले जानकारी दिए ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘हामीले सडक र विद्यालय भवन निर्माणमा बजेट विनियोजन गराएका छौ,’ उनले भने, ‘यो सँगसँगै यातायात, उर्जा, पर्यटन, जिविकोपार्जन र जलउपयोग गुरुयोजना निर्माणको थालनी गरिएको छ ।’

यस्तै महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले नगरपालिकाले यातायात क्षेत्र पहिलो प्राथमिकताका साथ अघि बढेको बताए । जिल्लाकै पहिलो नगरपालिका भएपनि यहाँका कतिपय वडाहरु सडक सुविधाबाट टाढा रहेका छन् । अहिले पनि स्थानीयले नगरपालिकाको अनुभूतिगर्न नसकेको भन्दै सडक क्षेत्रसँगै अन्य क्षेत्रको गुरुयोजना बनाइने बताए ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले गाउँपालिकाको सम्बृद्धिको लागि कृषि र धार्मिक पर्यटन उपयुक्त भएको बताएका छन् । ‘शैल्यशिखर, राष्ट्कै सातौ धाम मालिकार्जुन, उकु भग्नावशेष लगायत केबुलकार निर्माण गर्न सके यो क्षेत्रको विकास हुन्छ,’ उनले भने ।
लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले यातायातको विकास बीना सम्बृद्धि सम्भव नभएको भन्दै सडक पहिलो प्राथमिकता हुनुपर्ने बताए । ‘अहिले पनि यहाँका नागरिक ट्युबमार्फत आवतजावत गर्छन् भने सडकबाट घण्टौ हिडेर मात्र गाउँपालिका पुग्नुपरेकोछ,’ उनले भने, ‘यसको लागि सडक पहिलो प्राथमिकता हो ।’
प्रकाशित समय १३:२७ बजे

















