गृहपृष्ठ साली नदीमा स्वस्थानी व्रतालुको स्नान (फोटोफिचर)
साली नदीमा स्वस्थानी व्रतालुको स्नान (फोटोफिचर)

बिहीबारदेखि सुरू भएको स्वस्थानी व्रतकथाका व्रतालु हरेक दिन सालीनदीमा स्नान गर्ने गर्दछन् । माघ महिनामा साली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वासअनुसार बिहान अँध्यारोमै स्नान गर्ने गरेको जानकारहरू बताउँछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म हुने श्रीस्वस्थानी ब्रतमा सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी व्रत बसेपछि उनको इच्छा पूरा भएको मान्यताअनुसार श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो ।
श्रीस्वस्थानीको अवधिमा व्रत गर्नाले सुखशान्ति, समृद्धि मिल्नुका साथै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव-पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमाहात्म्यमा उल्लेख छ । सो पुराणका अनुसार महादेवपत्नी सतीदेवीले बाबुले आफ्ना पति महादेवलाई गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन् । पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको र सानैदेखि ‘महादेव पति पाऊँ’ भन्ने कामनासहित व्रत गरेको उल्लेख छ ।
विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएका र पार्वतीले विधिपूर्वक एक महिनासम्म सो व्रत गरी महादेव पति पाएको श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ । व्रतपछि शिव-पार्वतीको विवाह भएकाले सोही परम्परालाई आधार मानी श्रीस्वस्थानी व्रतकथा लोकचलनमा आएको हो । श्रीस्वस्थानी व्रत पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने भए पनि व्रत गर्ने पुरुष वा महिलाले अघिल्लै दिन बिहान सबेरै उठी हातखुट्टाका नङ काट्ने, स्नान गर्ने र ‘शुद्ध वस्त्र लगाएर एक छाक सात्विक भोजन गर्ने गर्दछन् ।
व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्न कालमा श्रीमहादेवको पूजाआराधना र अघ्र्य दिने चलन छ । त्यस्तै बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार-अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने-सुनाउने गरिन्छ ।
प्रकाशित समय १८:३४ बजे