गृहपृष्ठ नेताहरुले भने अधिकारीद्वयको अभाव खड्किरहने छ
नेताहरुले भने अधिकारीद्वयको अभाव खड्किरहने छ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले भरतमोहन अधिकारी तथा रवीन्द्र अधिकारीको निधनले कम्युनिस्ट आन्दोलन र देशका लागि ठूलो क्षति भएको बताएका छन् । सत्तारूढ नेकपाले भृकुटीमण्डपमा बिहीबार आयोजना गरेको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै नेकपाका नेताहरूले अधिकारीद्वयको अभाव सधैँ खड्किरहने बताए ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भरतमोहन अधिकारीको निधनले आफूलाई अभिभाव गुमाएको अनुभूति भएको बताए । नेपालको लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन, कम्युनिस्ट आन्दोलनमा अधिकारीको योगदान बिर्सनै नसक्ने खालको रहेको उनले बताए ।
नेकपाले एक साताअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जना र नेकपाका अग्रज नेता भरतमोहन अधिकारीको निधनमा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दिवंगत रवीन्द्र अधिकारीले संस्कृतिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा र नागरिक उड्डयनको क्षेत्रमा असाधारण काम गरेर सबैको प्रिय बन्न सफल भएका बताए ।
भरतमोहन अधिकारी, रवीन्द्र अधिकारीलगायतको निधनले कम्युनिस्ट आन्दोलनका लागि र देशका लागि ठूलो क्षति भएको भन्दै उनीरुको अभाव सधैँ खड्किरहने ओलीले बताए । मृतकहरुले गर्न चाहेका, गर्न खोजेका राम्रा कामलाई अगाडि बढाए मात्रै उनीहरुप्रति गरिने श्रद्धाञ्जलीको सच्चा सम्मान हुने भन्दै पार्टीले उनले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने बताए ।
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु पहाडझैं गँह्रुंगो भएको अनभूति व्यक्त गरे । गत वर्षमात्रै पुत्र वियोगको सामना गरेका प्रचण्डले भने, ‘मृत्युको सन्दर्भमा कुनै विद्वानले भनेका छन- कसैको मृत्यु पहाडझैं गह्रुंगो र कसैको मृत्यु प्वाँखझैं हलुका हुन्छ । नेताद्वयको मृत्यु पहाडझैं ग्रह्रौं हो ।’
नेताद्वयको मृत्युले नेकपालाई र प्रकारान्तरले राष्ट्रकै लागि ठूलो क्षति पुगेको प्रण्डले टिप्प्णी गरे । ‘भरतमोहन नेपाली कम्युनिस्ट आन्दोलनको अभिभावक हुन्नुहुन्थ्यो, रवीन्द्र पार्टीका भरोसायोग्य र आशालाग्दो नेता हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘आज हामी सबै शोकमा छौं । पछि बिस्तारै अनुभूत हुन्छ । उहाँहरूको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ ।’
प्रकाशित समय १७:१९ बजे

















