गृहपृष्ठ राजपाद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

राजपाद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

दुई तिहाईको घमण्डले द्वन्द्वको खतरा बढाएको आरोप

mahendra_yadav_in_parliament

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिँदै सरकारकै गतिविधिका कारण मुलुकमा द्वन्द्वको खतरा बढेको आरोप लगाएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्रराय यादवले आइतबारको संसद बैठकलाई सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी दिँदै सरकारले नै द्वन्द्व निम्त्याएको बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो पार्टीप्रति संकेत गर्दै दिएका अभिव्यक्तिले सरकार आफैं द्वन्द्व निम्त्याउन उद्यत् रहेको पुष्टि गरेको यादवले आरोप लगाए ।

सरकारले यसअघि आफूसँग गरेका सहमति कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले जानकारी गराए । ‘सरकारले हामीसँग संवाद नै गर्न चाहेन । त्यसपछि हामी बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता गर्न बाध्य भयौं,’ यादवले भने, ‘संघीयताको मर्मअनुसार प्रदेशलाई सरकारले अधिकार दिएन । शान्तिसुरक्षा कायम भएन, जताततै स्थिति लथालिंग भएको छ ।’

राजपाले सुशासन, शान्ति सुरक्षामा पूर्ण असफल भएको र संविधान संशोधनप्रति उदासीन देखिएको आरोप पनि लगाएको छ । यादवले भने, ‘हामीलाई सरकारले हाम्रा कार्यकर्तामाथि लगाइएका झुटा मुद्दा फिर्ता, जेलमा रहेका कार्यकर्ताको रिहा र संविधान संशोधन गर्छु भनेको थियो तर ती कुनै कार्य पनि नगरेकाले सरकारलाई दिएको समर्थ फिर्ता लिएका हौँ ।’

त्यस्तै राजपाले टीकापुर घटनाको छानबिन गर्न गठित गिरीशचन्द्रलाल नेतृत्वको प्रतिवेदन सार्वजनिक नगर्नुमा सरकारले आफ्नो गल्ती लुकाएको आरोप लगाएको छ । नेता यादवले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सो मागपछि सभामुख महराले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरेका छन् ।

 

आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलालीको टीकापुर घटनाका सम्बन्धमा छानबिन गर्न गठन भएको ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न रुलिङ’ गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ’लाल आयोगको प्रतिवेदन’ सार्वजनिक नगरिए सदनको कारबाही रोक्ने चेतावनी दिएपछि सभामुख महराले सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

उच्च प्रहरी अधिकारीसहित नौ जनाको हत्या भएको उक्त घटनाका सम्बन्धमा केही दिन पहिले कैलाली जिल्ला अदालतले फैसला सुनाएको थियो । जिल्ला अदाललते राजपाको तर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उक्त घटनाको छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वका आयोग गठन भएको थियो ।

आयोगले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयमा गोप्य राखिएको छ । प्रतिवेदन सार्वजनिक नभएपनि जिल्ला अदालतले आफ्ना सांसदलाई दोषी ठहर गरेपछि राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले ’यो प्रतिवेदन किन लुकाइयो’ भनि जवाफ माग गरेका थिए ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिवेदन सार्वजनिक भएका आफ्नो दमन खुल्ने भन्दै सरकार डराएको बताए । उनले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए ।

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु