गृहपृष्ठ प्रचण्डको सुरक्षामा ५९ सुरक्षाकर्मी, ‘सुरक्षा थ्रेट’पछि बढाउने तयारी
प्रचण्डको सुरक्षामा ५९ सुरक्षाकर्मी, ‘सुरक्षा थ्रेट’पछि बढाउने तयारी
सुरक्षा खतरा भए जानकारी गराउन अरुलाई पनि गृह मन्त्रालयको आग्रह
पूर्वपदाधिकारीको नाममा राज्यबाट सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि छन् । ‘सुरक्षा थ्रेट’का नाममा राज्यले पूर्वपदाधिकारीलाई सुरक्षा उपलब्ध गराउँदै आएकोमा प्रचण्डले बढी सुरक्षा सेवा लिइरहेका छन् । यति हुँदाहुँदै पनि उनले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले हत्या गर्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे सरकार गम्भीर देखिएको छ । सुरक्षा निकायले प्रचण्डलाई सुरक्षा थ्रेट बढेकै निष्कर्ष निकालेका छन् ।
सुरक्षा विज्ञका अनुसार सशस्त्र संघर्षको नेतृत्व गरेर आएका प्रचण्ड र पूर्वमाओवादीका नेताहरुलाई शान्ति प्रक्रियामा आएपछि सुरक्षा थ्रेट हुनु अस्वाभाविक होइन । सरकारले पनि त्यही सुरक्षा थ्रेट मूल्यांकन गरेर अरु भिभिआईपीभन्दा बढी सुरक्षा तथा अरु सुविधा उपलब्ध गराउँदै आएको छ । तर, समयानुकूल सुरक्षा थ्रेट मूल्यांकन गरेर सुरक्षाकर्मी थपघट हुनुपर्नेमा भएको छैन ।
पूर्वप्रधानमन्त्री प्रचण्डलाई सरकारले बा. १ झ १४७९ को जिपसमेत उपलब्ध गराएको छ । वि.सं. २०६६ साल साउन ९ गतेको मन्त्रिपरिषद बैठकले प्रचण्डलाई ०६६ जेठबाट लागू हुने गरी आवास सुविधाबापतको घरभाडा, धारा, बिजुलीको बिललगायतको सुविधा उपलब्ध गराउँदै आएको छ । यससँगै सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटाएको छ ।
सुरक्षा थ्रेटबारे प्रचण्ड आफैंले पटकपटक बोलेपछि यसबारे गृह मन्त्रालयले थप सुविधा दिने तयारी गरेको हो । राष्ट्रिय अनुसन्धान विभाग र अरु सुरक्षा निकायको सूक्ष्म अनुसन्धानबाट प्रचण्डलाई सुरक्षा थ्रेट बढेको निष्कर्ष आएकाले पहिलेको सेवा सुविधामा हेरफेर गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । प्रचण्डले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।
गृह मन्त्रालय स्रोतले भन्यो– विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको निष्कर्ष छ, यसैले अहिले पाइरहेको सुरक्षा सुविधामा केही बढाउने तयारी छ । साथै उहाँ सरिक हुने विभिन्न स्थल तथा कार्यक्रममा सुरक्षा निगरानी बढाइनेछ ।
विगतमा माओवादी पार्टीप्रति असन्तुष्ट समूह र त्यो समूहलाई परिचालन गर्ने जुनसुकै पक्षबाट प्रचण्डलाई बढी थ्रेट रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सुरक्षा निकायको पछिल्लो विश्लेषणपछि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई प्रचण्डमात्र नभई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत निर्देशन दिइसकेको छ ।
प्रचण्डले कति सुरक्षा लिएका छन् ?
प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ । यो अरु पूर्वप्रधानमन्त्रीको तुलनामा निकै बढी हो । द्वन्द्वबाट आएका शक्तिलाई आफ्नै भित्रबाट पनि सुरक्षा थ्रेट हुन सक्ने र बाहिर पनि उत्तिकै थ्रेट रहने सुरक्षा विज्ञहरु बताउँछन् ।
तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र सो पार्टीबाट पनि फुटेर नेत्रविक्रम चन्दको नेतृत्वमा माओवादी गठन भएको छ । माओवादी र नेकपा एमाले एकता भएपछि अन्य स–साना समूह पनि गठन भएका छन् । ती असन्तुष्ट पक्ष जति धेरै भए उति धेरै सुरक्षा खतरा रहने सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।
प्रचण्डले आफूलाई सुरक्षा थ्रेट भएको बताएलगत्तै अरु पूर्वपदाधिकारीलाई पनि त्यस्तो खतरा भए सरकारलाई जानकारी गराउन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयले विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्रीको सुरक्षामा सरकार चनाखो भएको जनाउँदै सुरक्षा खतराको कुन जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ ।
प्रकाशित समय २१:२१ बजे

















