गृहपृष्ठ संविधान संशोधन गरेर ५५ प्रतिशत सांसद घटाइदिऊँ : सुदन किराँती
संविधान संशोधन गरेर ५५ प्रतिशत सांसद घटाइदिऊँ : सुदन किराँती
सांसद सुदन किराँतीले संविधान संशोधन गरेर ५५ प्रतिशत सांसद घटाइदिन माग गरेका छन् । ‘जनताले पनि त्यही माग गरिरहेका छन्, जनप्रतिनिधि बढी भयो भनिरहेका छन्,’ प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘संविधान संशोधन गरेर ५५ प्रतिशत मात्र सांसद राखौँ ।’
सांसद किराँतीले सीमा मिचिइरहेका बेला नेपाली सेना सिमानामा पु‑याउन सकिँदैन भने सेनाको यति ठूलो संख्या किन चाहियो ? भनेर प्रश्न गरेका छन् । ‘नेपाली भूमि मिचिएको छ, नयाँ नक्सा जारी भएको तर नेपाली सेना कहाँ छ ? सेना जग्गा प्लटिङमा छ, सेना पेट्रोलपम्ममा छ,’ उनले भने, ‘सेनाबाट सीमा सुरक्षा हुन सक्दैन भने संख्या घटाइदिऊँ ।’
उनले सेनाले व्यापार गर्न नहुने पनि बताए । जनताको कर खाएका सेनालाई पेट्रोल भर्न लगाउनु गलत भएको सांसद किराँतीको भनाइ छ । ‘हामी यहाँ श्रमलाई अस्वीकार गर्छौं, अस्ट्रेलिया गयौँ भने ट्वाइटेल धुन तयार हुन्छौँ,’ उनले भने, ‘हामी कस्तो शिक्षा दिइरहेका छौँ ।’
प्रकाशित समय १५:४६ बजे

















