गृहपृष्ठ एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षका कार्यक्रम घोषणा

एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षका कार्यक्रम घोषणा

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ११ दलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ११ दलले सोमबार संयुक्त वक्तव्य जारी गरी सम्झौता राष्ट्रघाती रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालू अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेको भन्दै संघर्षका कार्यक्रम  घोषणा गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा ओली एमसीसीलाई पारित गराउने दाउमा लागेको उनीहरूको आरोप छ । उनीहरूले सोमबार न्युरोडमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

संघर्षलाई घनीभूत बनाउन अन्य सबै विषयलाई थाती राखेका उनीहरूले संसदको कार्यसूचीबाट एमसीसीको विषयलाई नहटाउँदासम्म ‘एमसीसीको खारेजी’ मागलाई एक सूत्रीय बनाउने ११ दलको निर्णय छ ।

असार १० गते बस्ने सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा एमसीसीबारे छलफल हुने भएकाले विकसित परिस्थितिलाई ध्यानमा राख्दै असार ११ गते संयुक्त बैठक बसेर संघर्षको योजना तय गर्ने उनीहरूको तयारी छ ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु