गृहपृष्ठ पार्टी एकताको रक्षाका लागि सबै एक ठाउँमा उभिन जरुरी : महासचिव पौडेल

पार्टी एकताको रक्षाका लागि सबै एक ठाउँमा उभिन जरुरी : महासचिव पौडेल

अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताए । ‘कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ,’ उनले भने ।

महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नाको विकल्प नभएको बताए । उनले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागिपर्ने प्रतिबद्धता जनाए । पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउँदै उनले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पारे । मर्यादाबाहिर गएर भएका आरोप‑प्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुने उनको विश्वास छ ।

पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताए । पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभई संवैधानिक अंगमा हुने नियुक्तिका विषयमा छलफल भएको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले सरकार देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको स्पष्ट पारे । ‘अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ,’ उनले भने । मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदा पनि रुपन्देहीलाई कुनै असर नपर्ने स्पष्ट पारे । रुपन्देहीलाई अझै माथि उठाउन विकासका मुद्दालाई ओझेलमा पर्न नदिने प्रतिबद्धता जनाए । ‘यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन । आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्दै लैजान्छौँ,’ उनले भने ।

अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका पौडेलले उद्योगी व्यवसायीसँग बुटवलमा छलफल गरेका छन् । अर्थमन्त्री पौडेल बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनले तिनाउ–दानव कोरिडोर सडकको शिलान्यास गर्ने कार्यक्रम छ । (रासस)

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु