गृहपृष्ठ कांग्रेस हिन्दू राष्ट्रको पक्षमा कि विपक्षमा ?
कांग्रेस हिन्दू राष्ट्रको पक्षमा कि विपक्षमा ?
हिन्दू राष्ट्रका विषयमा कांग्रेसमा फेरि विवाद चर्किने देखिएको छ । हिन्दू राष्ट्रको माग गर्दै सडकमा जनता उर्लिएको देखेपछि कांग्रेसका केही नेता बहकिएर हिन्दू राष्ट्रको पक्षमा उभिएका छन् भने केही नेता पार्टीको लाइन हिन्दू राष्ट नभएको बताउन थालेका छन् ।
नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् । महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रको वकालत गर्दै सोमबार जनमत संग्रह गर्नुपर्ने बताएका थिए । मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा त्यसको प्रतिवाद गर्दै भने, ‘हिन्दू राष्ट्र पार्टीको लाइन होइन ।’
नेता शशांकलाई इंगित गर्दै उनले ‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न नसक्ने’ बताए । ‘कांग्रेस आफैंले ल्याएको परिवर्तनविरुद्ध जान सक्दैन,’ कांग्रेसका प्रभावशाली नेता सिंहले भने, ‘आफैंले ल्याएको परिवर्तन उल्टाउन सकिन्न । नेपाली कांग्रेस संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध छ ।’
नेकपा नेतृत्वको सरकार संघीय गणतन्त्रको मर्मविपरीत चलेको उनको आरोप छ । प्रधानमन्त्री स्वयंले प्रदेशलाई संघीय सरकारको प्रशासनिक केन्द्र भनेर अभिव्यक्ति दिनु संघीयताको उपहास भएको नेता सिंहको टिप्पणी छ । ‘भ्रष्टाचारमा रुमलिएको सर्वसत्तावाद सरकारविरुद्ध नेपाली कांग्रेसको आन्दोलन जारी रहनेछ,’ उनले भने ।
प्रकाशित समय १५:१८ बजे

















