गृहपृष्ठ अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं : कांग्रेस

अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं : कांग्रेस

nepali-congress-meeting

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नका लागि गरिएको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । प्रधानमन्त्रीको सो कदम संविधानको अक्षर, मर्म र भावना विपरित भएको भन्दै नेपाली कांग्रेसले राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्ने जनाएको हो ।

आइतबार आकस्मिक वैठक बस्दै नेपाली कांग्रेसले चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ ।’

यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको विज्ञप्तिमा जनाएको छ । ‘सबै राजनीतिक दल, संघ-संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ । पार्टीले लिने आवश्यक कदम र थप धारणाबारे आजै १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ ।’ विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु