गृहपृष्ठ बिमस्टेक सफल भयो, सार्ककाे महत्व घटेकाे छैन : देउवा

बिमस्टेक सफल भयो, सार्ककाे महत्व घटेकाे छैन : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले सोमबार आयोजना गरेको कार्यक्रममा देउवाले सरकारले सफलतापूर्वक बिमस्टेकको शिखर सम्मेलन आयोजना गरेको प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बिमस्टेकले आपसमा सद्भाव बढाउने उल्लेख गरे । तर, बिमस्टेकका कारण सार्कको महत्व घटेको कुरालाई उनले अस्वीकार गरे । पछिल्लो समय भारतका कारण सार्कले महत्वहीन हुँदै गएको र त्यसलाई बिमस्टेकले प्रतिस्थापन गर्न खोजीको चर्चा व्यापक रुपमा चलेको छ ।

देउवाले सार्क र बिमस्टेकको छुट्टाछुट्टै महत्व रहेकाले बिमस्टेकका कारण सार्कको महत्व नघटेको उल्लेख गरे । उनले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने आवश्यकता औंल्याए ।

सरकारले जनभावना बुझेर काम गर्नुपर्ने भन्दै उनले मुलुकभर हिंसाका घटना बढ्नु तथा दोषीलाई कारबाही गर्न नसक्नु सरकारको कमजोरी भएको बताए । सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता लगाउनबाट सरकार चुकेको बताए ।

चिकित्सकहरुको आन्दोलनप्रति लक्षित गर्दै देउवाले मुलुकी संहितालाई जनचाहनाअनुरुप परिवर्तन गर्न सकिने बताए ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु