गृहपृष्ठ प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ : देउवा
प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ : देउवा
फाइल तस्बिर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने देउवाले बताए । ‘हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौंसम्म पत्ता नलाग्नु कानुनी राज्यका लागि चुनौती हो,’ उनले भने, ‘बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि कारबाही होस् ।’
कार्यक्रममा दलका अध्यक्ष जितजंग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि संगठन लागिपर्ने बताए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह संगठित गर्ने क्रममा २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो ।
प्रकाशित समय १३:१६ बजे

















