गृहपृष्ठ कुचो बोकेर गृहमन्त्री थापा सडकमा !
कुचो बोकेर गृहमन्त्री थापा सडकमा !
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कुचो बोकेर सडक सफा गर्न निस्किएका छन् । बिहीबार बिहान उनी भक्तपुरको सडक सफा गर्न सडकमा निस्किएका हुन् । भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु गर्न गृहमन्त्री थापा फूलमाला लगाएर सडक सफा गर्न पुगेका हुन् ।
भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर अभियान शुभारम्भ गर्दै गृहमन्त्री थापाले अभियन्ताहरुलाई सफाइका सामग्री समेत हस्तान्तरण गरे । मन्त्री थापाले भने, ‘जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका छन्, त्यो जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग चाहिन्छ ।’

शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उनले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि शुरु भएको बताए । अरनिको राजमार्गमा टिपरले धेरैको ज्यान लिएको चर्चा गर्दै गृहमन्त्री थापाले भने, ‘हामी सुरक्षित नेपाल पनि बनाउने अभियानमा लागेको छाैं, सुरक्षित भए मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ, दुर्घटना र महिला हिंसाको पछाडिका कारण मदिरा नै भएकाले जनताको सुरक्षाका निम्ति पनि मदिरा पूर्णरूपमा निषेध गर्नु जरुरी छ ।’
महिला हिंसा र बलात्कार रोक्न, सरकार, प्रहरी र प्रशासनले मात्रै सम्भव छैन, यसमा जनताको सहभागिता जरुरी हुन्छ भन्दै उनले सिङ्गापुर समृद्ध बनेको उदाहरण दिँदै जनता र सरकार मिलेर आफ्नो मुलुकलाई पनि समृद्ध बनाउनुपर्ने धारणा राखो । सांसद महेश बस्नेतले भक्तपुरको छ लेन सडकसँगै अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि भक्तपुरको सिमानामा रहेको काभ्रेको साँगासम्मको सडकका साथै सफा, स्वच्छ र सुरक्षित बनाउन सबै लाग्नुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आगामी एक महीनासम्म सञ्चालन हुने यो अभियानले भक्तपुरका जनतालाई सभ्य, सुरक्षित र मर्यादित बनाउने बताउँदै उनले जडिबुटीबाट भक्तपुर प्रवेश गरेपछि र साँगाबाट भक्तपुर प्रवेश गरेपछि फोहर गरे कारवाहीमा परिने कुरा सबैलाई बुझाउनुपर्नेमा जोड दिए ।
जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका सम्पूर्ण निकाय, सङ्घसंस्था एकढिक्का भएर हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म उक्त अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
कार्यक्रममा सांसदद्वय महेश बस्नेत र प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतका जनप्रतिनिधि र सफाई अभियन्ताहरू सहभागी थिए । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन हुनेछ ।
(रासस)
प्रकाशित समय ११:४८ बजे

















