गृहपृष्ठ कम्युनिस्ट सरकार नागरिकताविरोधी होइन : रक्षामन्त्री

कम्युनिस्ट सरकार नागरिकताविरोधी होइन : रक्षामन्त्री

ishwor-pokhrel-newskarobar

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कम्युनिस्ट सरकार नागरिकताविरोधी नभएको बताएका छन् । धनुषाको नगराइनस्थित देवडीमा हरिदेव मण्डल स्मृति प्रतिष्ठानद्वारा आयोजित स्मृतिसभामा रक्षामन्त्री पोखरेलले अंगीकृत नेपाली नागरिकता भएका जनताका छोराछोरीले वंशजको नागरिकता पाउने बताए ।

नेपालको तीन छेउमा भारत र एकातिर चीनले घेरेको भन्दै उनले रक्षामन्त्री पोखरेलले नागरिकता वितरणमा सजग रहन जरुरी रहेको प्रष्ट पारे । ‘नेपालमा मात्रै होइन, भारत र चीनमा पनि नेपाली र मैथली, भोजपुरी भाषा बोल्नेहरु छन्,’ उनले भने, ‘नेपाली नागरिकता वितरण गर्दा ती देशका नागरिकले लिए भने नेपालीलाई नै समस्या हुन्छ ।’

देशको आर्थिक अवस्था जस्ताको तस्तै भए पनि कानुनी अधिकार र व्यवस्थामा आमूल परिवर्तन भइसकेको मन्त्री पोखरेलको भनाइ छ । अहिलेसम्म २६ वटा मात्रै नयाँ कानुन बनेको जानकारी गराउँदै उनले संघीय सरकारले चैत मसान्तसम्ममा सम्पूर्ण कानुन बनाइसक्ने स्पष्ट पारे । ‘देशमा कुनैबेला संघले एकलौटी रुपमा बजेट र योजना दिने गरेको थियो तर अहिले ती सारा विकास गर्ने अधिकार र बजेटसहित देशमा ७ सय ५३ स्थानीय सरकार गठन भइसकेकाले अब विकासमा स्थानीय सरकारले बढी ध्यान दिनुपर्छ,’ उनले भने, ‘प्रतिस्पर्धा राजनीतिमा गर्नुपर्छ तर विकासका सवालमा तीनै तहका सरकार, जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्छ ।’

कम्युनिस्ट सरकारले पाँच वर्षभित्र गत चुनावका बेला जनाएका सबै प्रतिबद्धता पूरा गर्ने भन्दै मन्त्री पोखरेलले कम्युनिस्ट सरकार मधेसको विकासका सवालमा थप उदार रहेको जिकिर गरे । जनता आवास कार्यक्रम, पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण जिल्ला सदरमुकाम जोडने सडकलाई फराकिलो गर्ने योजना, मधेसलाई हराभरा र हरियाली बनाउन सुनकोशी–कमला डाइर्भसन लगायतको कामलाई प्राथमिकता दिएबाट पनि सरकारले मधेसलाई दिएको प्राथमिकता स्पष्ट हुने उनले बताए ।

कार्यक्रममा भौतिक योजना निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठले अबको पाँच वर्षमा मधेसको गौरवशाली हुलाकी राजमार्गका सम्पूर्ण सडक चिल्ला बन्ने दाबी गरे । ‘आउँदो चुनावका बेला मधेसका जनता हुलाकी राजमार्गमै हिँडेर भोट माग्न जान पाउनेछन्,’ उनले भने । ‘हुलाकी राजमार्ग बनाउन सरकारले ४ सय २० करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै मन्त्री महासेठले कृषिक्षेत्रमा समेत आमूल परिवर्तन र उब्जनी बढाउनका लागि कोशी–कमला डाइभर्सनको कामलाई तीव्रता दिइएको बताए ।

प्रकाशित समय २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु