गृहपृष्ठ दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रधानन्त्रीले भनेः सरकार साथमा छ
दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रधानन्त्रीले भनेः सरकार साथमा छ
‘परिवारका सदस्यले जत्तिकै पीडा महसुस गरेको छु’
प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा आफूले परिवार सदस्यले जत्तिकै पीडा महसुस गरेको बताएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले दुर्घटनाबाट आफूले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको उल्लेख गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले मृतकको परिवारप्रति सम्बोधन गर्दै सरकार साथमा रहेको बताएका छन् । ‘यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छ । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुस्ख व्यक्त गर्दछु । सरकार साथमा छ, हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।’
ताप्लेजुङको चुहान डाँडामा नया एयरपोर्टको सम्भाव्यता अध्ययनको लागि गएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पाथिभराको सिस्नेखोला क्षेत्रमा दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो । उनीहरु सबैको शव अहिले काठमाडौं ल्याइएको छ ।
प्रकाशित समय २०:१९ बजे

















