गृहपृष्ठ राजपाको महाधिवेशन आगामी वैशाखमा नहुने
राजपाको महाधिवेशन आगामी वैशाखमा नहुने
राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशनको तयारी र स्थानीय सरकारसँगको समन्वयबारे प्रदेशस्तरीय विस्तारित बैठकमा छलफल गरेको छ ।
भैरहवामा शनिबार भएको छलफलमा अध्यक्ष मण्डलका नेताहरुसँगै पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा प्रदेश सांसदहरुले संयुक्त छलफल गरेका हुन् ।
आगामी वैशाख पहिलो साथा केन्द्रीय महाधिवेशनको तयारी गरेको राजपाले त्यसैको तयारी स्वरुप शनिबार सामूहिक छलफल गरेको हो । यस्तै, स्थानीय सरकारसँग र र प्रदेश सांसदहरुबीचको समन्वयबारे पनि बैठकमा छलफल भएको राजपा नेता केशव झाले जानकारी दिए ।
यसैबीच, राष्ट्रिय जनता पार्टी राजपाको महाधिवेशन आगामी वैशाखमा नहुने भएको छ । तोकिएको समयमा साधारण र सक्रिय सदस्य वितरण तथा वडा र क्षेत्रीय अधिवेशन नहुने भएपछि केन्द्रीय महाधिवेशन समेत प्रभावित हुन लागेको हो ।
फागुन १५ गतेसम्म साधारण र सक्रिय सदस्य वितरण गरिसक्ने भनिए पनि राजपाले सदस्यता वितरण गरिसकेको छैन । जसका कारण वडा र क्षेत्रीय अधिवेशन नै पछि धकेलिन लागेको राजपाका एक नेताले बताए । सक्रिय सदस्यता वितरण कार्य समेत फागुन मसान्तसम्मका लागि सारिएको छ ।
विभिन्न ६ वटा पार्टी मिलेर बनेको राजपाले पार्टी एकीकरण भएको २ वर्षपछि आगामी वैशाख पहिलो साता केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित समय १९:०२ बजे

















