गृहपृष्ठ ट्रेड युनियन कांग्रेसको निर्वाचन आज
ट्रेड युनियन कांग्रेसको निर्वाचन आज
नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको बन्दसत्र सम्पन्न भएको छ ।
चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदुर र पुँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदुरलाई गरेको व्यवहारलगायत मजदुरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
ट्रेड युनियन कांग्रेसका खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनको रुपमा उभ्याउन सबैलाई समेटेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।
बन्दसत्रमा झण्डै १५० प्रतिनिधिले आफ्नो राय तथा सुझाव राखेका थिए । दाहालले प्रतिनिधिले दिएका सुझावलाई एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने जानकारी दिए ।
ट्रेड युनियनको निर्वाचन शुक्रबार हुने भएको छ । निर्वाचनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले निर्वाचनको कार्य शुक्रबार बिहान ७ बजेदेखि सञ्चालन गरिने जानकारी गराए ।
सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा देशैभरबाट एक हजार ४२० जनाले मताधिकारको प्रयोग गर्नेछन् ।
(रासस)
प्रकाशित समय ०७:५० बजे

















