गृहपृष्ठ एनआरएनए अस्ट्रेलिया चुनाव : २०९ पदका लागि ४०० को उम्मेदवारी

एनआरएनए अस्ट्रेलिया चुनाव : २०९ पदका लागि ४०० को उम्मेदवारी

अध्यक्षका लागि दिनेश पोखरेल, केशव कँडेल र नन्द गुरुङ प्रतिस्पर्धामा

candidates-australia-nrna-newskarobar

जुलाई ६ तारिखमा हुने गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचनमा २०९ पदका लागि चार सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । ११ हजार ६ सय ५७ एनआरएनए सदस्य रहेको अस्ट्रेलियाको चुनावका लागि ४०० भन्दा बढीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि मेलबर्नबाट केशव कँडेल तथा सिड्नीबाट दिनेश पोखरेल र नन्द गुरुङले उम्मेदवारी दिएका छन् । महासचिव पदका लागि डा. ज्ञानेन्द्र रेग्मी, डा. शंकर ढकाल र सन्तोष दाहाल तथा सचिवका लागि परेश घिमिरे, उषा बारिया पोखरेल र सरोज पाण्डेले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा अनिल पोखरेल, कुशल केसी र कपिलदेव पाण्डेको उम्मेदवारी परेको छ ।

एनआरएएनए अस्ट्रेलियाको महिला संगठन नारी निकुञ्ज अस्ट्रेलिया भने निर्विरोध निर्वाचित भएको छ । सन्ध्या शाहको नेतृत्वमा रहेको टोलीमा डेपुटी कोर्डिनेटर सब्बु महर्जन, सचिवमा सुकीर्ति राज्यलक्ष्मी भट्ट तथा कोषाध्यक्षमा समीक्षा अधिकारी पाठक निर्विरोध निर्वाचित भएका हुन् ।

जुन २२ तारिखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । २ सयदेखि २ हजार डलरसम्म तोकिएको उम्मेदवारी दर्ता शुल्कबाट करिब ३ लाख अस्ट्रेलियन डलर जम्मा भएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

एनआरएनए अस्ट्रेलियाको निर्वाचन प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको छ । अस्ट्रेलियामा करिब एक लाख नेपाली रहेको अनुमान छ । एनआरएनए सदस्यताका हिसाबले अस्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली संस्था मानिन्छ ।

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु