गृहपृष्ठ साउदीबाट युवाको पत्र‑ आलोचना कोरोनाको गर्नु नि ! सरकारको किन गर्नु ?
साउदीबाट युवाको पत्र‑ आलोचना कोरोनाको गर्नु नि ! सरकारको किन गर्नु ?
विश्व स्वास्थ्य संगठन (डब्लूटिओ) ले नेपाललगायत विश्वभर कोरोनाभाइरस (कोभिड १९) को महामारी फैलिन सक्ने चेतावनी दिएको तीन साता बित्दा पनि लाखौंका प्रिय युवामन्त्री योगेशकुमार भट्टराई नेपाल कोभिड १९ मुक्त क्षेत्र भन्दै भिडियो बनाएर पर्यटक भित्र्याउन खोज्दा हामीले औधी खुसी मनायौँ । हामीले ताली बजायौँ । किनकि हामी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका खाटी कार्यकर्ता हौं । शुभचिन्तक हौं ।
विश्वव्यापी फैलिँदै गएको महामारीसँग केको चासो हामीलाई ? योगेश भट्टराईको इमानदार भक्त जसरी हुन्छ, उहाँलाई सफल मन्त्री बनाउनु थियो । रोग भित्रिएर के भो र ! धेरै पर्यटक भित्र्याएर देशको अर्थतन्त्र र भ्रमण वर्ष सफल पार्नु थियो । अर्को चुनावका लागि वातावरण बनाउनु थियो ।
एकाएक यो महामारी जब इटाली, स्पेन र अमेरिकातिर तीव्र दरमा फैलिन थाल्यो तब नेपालमा पनि विस्तारै यसको भय महसुस हुँदै गयो । सामाजिक सञ्जालमा काम नपाएका, काम गर्न जाँगर नभएका र अनपढ गँवारहरु खाडीमा बसेर बाक्लो आलोचना गर्न थाले । अलि‑अलि पढेर युरोप, अमेरिका गएकाहरुले पनि खाडीवालाको स्वरमा स्वर थपे । हाम्रो सरकार यति गम्भीर थियो कि संक्रमणविरुद्धको तयारी लगभग सकिसकेको थियो । मात्रै बाँकी थियो त्यो राक्षसी कोरोना आउन मात्रै ।
नभन्दै त्यो पनि आयो एकपछि अर्को गर्दै पाँच पुगिसक्यो । सरकार पूर्ण तयारी अवस्थामा भएकाले डराउनुपर्ने कुरै भएन । डा. सुन्दरमणि नाउँ मात्रैका सुन्दर मनचाहिँ अलि कुरुप नै रहेछ । कुनै स्वार्थ, अवसर र पदको लोभ नगरी फ्याट्टै सरकारले परीक्षण नै नगरी रोग लुकायो भनिदिए । होइन, यी डाक्टर साबलाई कुनै अवसर र स्वार्थको हेक्का नराखी किन प्वाक्क बोल्नुपरेको होला ? हुँदै नभएको रोगको परीक्षण गरेर किन आर्थिक नोक्सान गर्नु ? किन राष्ट्रको ढुकुटी रित्ताउनु भनेर पुरै तयारी गरेर सुतेको हाम्रो सरकारलाई यिनै लुते डाक्टरले जगाइदिए ।
जब‑जब कोरोनाले दुई तिहाइको सरकारको पूरा तयारीलाई हेक्का नगरी एक‑एक गर्दै लुकेर, छलेर छिर्ने कोसिस गर्यो, तब घिनौना भष्ट्राचारी र कांग्रेसीहरु माननीय भट्टराईको भ्रमण वर्ष असफल पार्न हात धोएर लागे । सरकारको आलोचना गर्न तम्सिए । आलोचना गर्नै मन लागे कोरोनाको गर्नु नि यार ! किन सरकारको गर्नु ? के सरकारले जानाजानी बोलाएको हो र त्यो राक्षसी कोरोनालाई ? दोष जति सबै सरकारको थाप्लोमा हालिदिने ?
तीन-तीन महिना बितिसक्दा त अलि मत्थर होला र फेरि टनका टन पर्यटक ग्वार्ग्वार्ती ल्याउँला भनेको त झन् झन् हामीतिर नै पो झम्टिन आउन लाग्यो । हुन त सरकारले पूरा तयारी गरे पनि डाक्टर र स्वास्थ्यकर्मीले लगाउने पिपिई सेट किन्न बाँकी थियो । दुई‑चार हजार थर्मोमिटर र मास्कबाहेक सबै तयारी पूरा थियो । चारैतिर पिपिई, पिपिई भन्दै बुर्कुसी मार्न थालेपछि अलिकति बजेट छुट्याएर खरिद गरेको फेरिक कमिसन र भ्रष्टाचारको आरोपमा मुछे ।
जे गरेपनि सुख छैन । यसो गरे नि हुँदैन, उसो गरे नि हुँदैन । यस्तो संकटको बेलामा जाबो १ अर्ब ५० करोडको बजेटबाट पिपिई र किट्स किनेर अलेली कुम्ल्याउँदा पनि विरोध । बिना कोटेसन किन दिएको भनेर सञ्चारमाध्यमले सूचना बाहिर ल्याएछन् । होइन, त्यही जाबो किन्न नि अनलाइन पत्रिकालाई सोध्नुपर्ने ?
चार हजार प्रतिसेट पिपिईलाई १५ हजार, १५०० पर्ने थर्मोमिटरलाई ७ हजार र १.४ रुपैयाँ पर्ने मास्कलाई १० रुपैयाँ भनेर लेख्न भ्याएछ । होइन, कति साह्रो चासो परेको हो अनलाइन मिडियालाई ? जतिमा किने पनि जस्तो किने पनि किन रोइलो गर्नु ? कता नै आफ्नै घरघडेरी बेचेर पैसा दिए जस्तो गर्छन् । यति दुःख गरेर जाबो अलिकति तल‑माथि गर्दा पनि हाम्रो सरकारको विरोध गर्ने ? आमाले एक किलो चिनी लिन पसल पठाउँदा २ रुपैयाँ बढाएर लुकाउनेहरु नै सबैभन्दा बढी हाम्रो सरकारको विरोध गर्या कुरा हामीलाई थाहा छैन र !
एकनारायण पौडेल
भरतपुर महानगरपालिका ‑१३, चितवन (हाल ‑ साउदी)
प्रकाशित समय २०:१० बजे

















