गृहपृष्ठ दिल्लीमा बेसहाराका ‘सहारा’ अर्जुन !
दिल्लीमा बेसहाराका ‘सहारा’ अर्जुन !
कोरोना भाइरसबाट जोगिनका लागि विश्वका दुई सयभन्दा बढी राष्ट्रहरु यतिबेला लकडाउनमा छन् । हाम्रो छिमेकी मुलुक भारत पनि उच्च जोखिममा छ । घरपरिवारको आर्थिक स्थिति कमजोर भएकै कारणले अधिकांश नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु अझै पनि भारतका विभिन्न ठाउँमा निम्न स्तरको आय स्रोतका निम्ति विदेशिएका छन् ।
विश्वभरी नै फैलिएको कोरोना भाइरसको महामारीका कारण भारत सरकारले जारी गरेको लकडाउनका कारण थुप्रै नेपाली मजदुर दाजुभाइ दिदीबहिनीहरुले आफ्नो रोजगार गुमाएर बस्नु परेको छ । कतिपयलाई त दैनिक आयस्रोतको माध्यम नै बन्द भैसकेपछि बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ । यो संकटमा पनि ती बेसहाराको लागि सहारा दिन एकजना मनकारी देखा परेका छन् ।
उनी हुन् नेपाली अर्जुन बोगटी । उनलाई दिनरात राहत वितरण गर्नेबाहेक फुर्सद नै छैन । कोरोना भाइरसको रोकथामका लागि भारत सरकारले लकडाउन जारी गरेको हप्ता दिनमै दिनहुँजसो आफ्नै गाडिमा ८÷१० बोरा चामल, नुन, तेल, दाल, मसलालगायतका दैनिक उपभोग्यका सामान बोकेर घर बाहिर निस्किरहेका छन् । दिल्लीलगायत आसपासका राज्य र सहरमा अलपत्र परेका नेपाली नागरिकहरुको दैलो–दैलोमा पुगेर आफ्नै निजी खर्चमा राहत वितरण गरहेका छन् ।
हुन त दुःख, कष्टमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका निम्ति भारतको राजधानी दिल्लीमै कुटनैतिक नियोगका रुपमा नेपाली दूतावास पनि छ । तर दूतावास भएर मात्र के गर्नु ? आफ्नो औपचारिक भूमिका निर्वाह गर्नका निम्ति मात्रै एकपछि अर्को अपिल पत्र जारी गर्नुबाहेक केही गरेको छैन । सामाजिक सञ्जालमा सार्वजनिक गरेका दूतावासका सम्पर्क नम्बरहरु सकभर स्वीच अफ नै भेटिन्छन् ।
दूतावासमा कुनै बेला फोनको घण्टी गैहाले पनि रिसिभ नै हुदैनन् । एकातिर लकडाउनका कारण अलपत्र परेका नेपाली नगरिकहरु भोकभोकै बसेर रोइकराइ गरिरहेका छन् भने अर्कातिर मुकदर्शक बनेको नेपाली दूतावास ‘भारतमा बस्ने कुनै पनि नेपालीलाई समस्या परेको छैन’ भनेर झुटो उर्दी जारी गर्दै आफ्नो जिम्मेवारीबाट पन्छिदै गएको छ । तर, पनि नेपाली जनसम्पर्क समिति, नेपाल–भारत समाज, सुदूरपश्चिमेली नेपाल–भारत समाज लगायतका संस्थाहरुले सक्दो सहयोग गरिरहेका छन् ।
कोही पनि नेपालीहरु भोकै नमरुन् भनेर मनकारी युवा बोगटी पनि रातदिन आफ्नो क्षमताले सकेसम्म राहत वितरणमा तल्लिन छन् । भारत सरकारले लकडाउन जारी गरेको मितिदेखि आजका दिनसम्म आइपुग्दा बोगटीले मात्रै व्यक्तिगत रुपमा एक हजारभन्दा बढी व्यक्तिलाई राहत वितरण गरिससकेका छन् । उनी लोकनायक पुरम (पश्चिम दिल्ली)मा भएका कारण सम्भव भएसम्म उनी दिल्लीभित्रै र नजिकका राज्य र सहरहरुमा आफैं गएर राहत वितरण गर्छन् भने भारतका अन्य विभिन्न राज्यमा बसोबास गर्ने नेपालीलाई समेत phone pay, paytem र account transfar मार्फत् पनि सहयोग गरिरहेका छन् ।
सिधै नगद सहयोग नगरेर आफू स्वयं उपस्थित हुन नसक्ने चण्डिगढ, जोतपुर, राजीस्थान, गडवाल र दरीयागञ्जलगायतका अन्य ठाउँहरुमा बसोबास गर्ने नेपाली मजदुरलाई नजिकैका रासन दोकान र सुपरमार्केटबाट आवश्यक रासन उपलब्ध गराइदिन्छन् र पसलको साहुको खातामा phone pay र paytem मार्फत् रकम ट्रान्सफर गर्ने गरेका छन् । आफू दिल्लीमा भए पनि दिल्लीभन्दा बाहिर र टाढा टाढा बस्ने करिब १३६ जना नेपालीलाई उनीहरु बसेको नजिकैको सुपरमार्केटमा पठाएरसमेत राहत सामग्री उपलब्ध गराएका छन् ।
दिल्लीभित्र र नेपाली दूतावास वरिपरि रहेका करोलबाग, लक्ष्मीनगर, बिनोदनगर, रोहिणी, पितम्पुरा, बक्खर्बाला, नाग्लोइ, कोट्लामुवारकपुर, ओख्ला, नोयडा, गाजियावाद, गुडगाउलगायतका विभिन्न ठाउँहरुमा अलपत्र परेका व्यक्तिहरुको दैलोमै पुगेर सहयोग गरिरहेका छन् । त्यति मात्र होइन, भारत सरकारले आह्वान गरेको आर्थिक संकलन अभियानमा समेत उनले सहयोग गरेका छन् । हरेक दिन सामाजिक सञ्जालमा आफ्नो फेसबुकमार्फत् ‘कुनै पनि नेपालीलाई भारतमा दैनिक छाक टार्न अप्ठ्यारो परेको छ भने मलाई सम्पर्क गर्नुहोला’ भनेर आफ्नो मोबाइल नम्बर ……… समेत सार्वजनिक गरिरहेका छन् ।
पछिल्लो समयमा दैनिकी नै सहयोगीको रुपमा स्थापित गरेका मनकारी व्यक्ति भेटिन मुस्किलै हुन्छ । उनको सहयोग प्राप्त गरेकाहरु त उनलाई ‘भगवान’ को संज्ञा दिइरहेका छन् । आफ्नो देशका नागरिकप्रति सरकार बेखबर रहे पनि बोगटी भने आफूले गर्न सक्ने सहयोग निरन्तर गरिरहने बताइरहेका छन् ।
बोगटीको सफलताको कथा
नेपालको कञ्चनपुर पुनर्वास नगरपालिका ५ का स्थायी बासिन्दा बोगटी २२ वर्षअघि मजदुरी गर्न भारत गएका थिए । त्यो बेलामा एउटा सामान्य होटलमा सरसफाईको काम पाएका बोगटीले मासिक सात सय रुपैयाँ कमाउथे । त्यो पैसाले आफूसहित परिवारमा पनि खानेकुराको जोहो गर्नुपथ्यो । काम गर्दै जाँदा चार वर्षपछि उनको तलब १५०० पुग्यो । त्यसपछि फेरि बोगटीको दुदर्शा सुरु भयो । नपढेको भन्दै मालिकले अर्को कामदारलाई भित्र्याए र उनलाई निकाले ।
पारिवारिक स्थिति कमजोर भएको भन्दै ७ कक्षामै छोडेर भारतमा गएका उनलाई नपढेको भन्दै साहुले निकालेर पठाएपछि उनलाई धेरै संघर्ष गर्नुपर्यो । भारतमै पढाइ पनि सुरु गरे । स्वअध्ययन गर्दै दिल्ली युनिभर्सिटीबाट यउभल नचबमगबतष्यल पूरा गरे । र आजकाल TNS clothing company Ltd को North delhi area manager को रुपमा कार्यरत छन् भने दिल्लीभित्र उनको दश वटा Ladies footwere and garments को नाममा निजी पसलहरु सञ्चालनामा छन् ।
सामाजिक रुपमा नेपाल तरुण दल भारतको कोषाध्यक्षसमेत रहेका बोगटीले यस अघि पनि दुःखमा परेका थुप्रै नेपाली नागरिकलाई सहयोग गरेका थिए । लकडाउनका कारण तत्कालका लागि बन्द भएका आफ्ना दश वटै पसलमा काम गर्ने ३५ जना कामदारको समेत एक पैसा नघटाइकन प्रत्येक महिनाको तलबसमेत दिइरहेका छन् भने अत्यावश्यक परेका कामदारहरुलाई पछिल्लो महिनाको पेश्कीसमेत दिसकेको छन् ।
यसरी मासिक सात सयको तलबमा रोजगार सुरु गरेका बोगटी अहिले बेसहाराको सहारा बनिरेहका छन् । उनी भन्छन्, ‘म कसैलाई एक/डेढ हजारको राहत दिएर फोटो खिचाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्न रुचाउँदैन । दुःखी, गरिब, पीडितलाई सहयोग गर्न पाउनु नै मेरा निम्ति अहोभाग्य हो । तर लाखौंको संख्यामा भारतमा बस्ने नेपाली दाजुभाई र दिदीबहिनीहरु यति ठूलो कष्टमा पर्दासमेत बेखबर हुने मेरो देशको सरकार र मुकदर्शक बनेको हाम्रो नेपाली दूतावासले आफ्ना सम्पर्क नम्बरहरु स्वीच अफ गरेर बस्नुको सट्टा मेरो सम्पर्क नम्बर सार्वजनिक गरी देओस् । सहयोगी हात फैलाओस् । म पनि क्षमताले भ्याएसम्म सहयोग गरिरहने छु ।’
प्रकाशित समय १२:५६ बजे

















