गृहपृष्ठ कोरोनाले विदेशमा थप आठ नेपालीको मृत्यु
कोरोनाले विदेशमा थप आठ नेपालीको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप आठ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोनाभाइरसका कारण आठ नेपाली ज्यान गएको हो ।
एनआरएनएको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपालीको संख्या २९३ जना पुगेको छ । संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।
संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अस्ट्रिया, जर्मनी, भारत, यूएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म दुई लाख ८ हजार २९९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ७० हजार ६३२ जना कोरोनामुक्त भएका छन् । शनिबार साँझसम्म नेपालमा एक हजार २१५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
एनआरएनएको स्वास्थ्य समितिले चाडपर्वका बेला हुने भेटघाट कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सामाजिक दूरी कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रकाशित समय १३:३३ बजे

















