गृहपृष्ठ कोरोना संक्रमणबाट २० मुलुकमा ३०१ नेपाली निधन
कोरोना संक्रमणबाट २० मुलुकमा ३०१ नेपाली निधन
विश्वका विभिन्न २० मुलुकमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३०१ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको छ । जसमा जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड- १९ उच्चस्तरीय समिति, (एनआरएनए)का प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।
हालसम्म नेपालमा दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् । तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।
छिट्टै खोप आउने विश्वास
स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखापरेको भन्दै खुशी व्यक्त गरेका छन् । रुसले निर्माण गरेको स्पुतनिक पाँच खोपको सामूहिक परीक्षण सुरु गरिएको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ ।
प्रकाशित समय १४:२७ बजे

















