गृहपृष्ठ नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया सुरु

नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया सुरु

प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ सञ्चालक समितिले आइतबार सहकारी विभागमा बैंक दर्तासम्बन्धी फाइल पेश गरेको छ । प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेको बताए ।

फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए । ‘विधिवत रुपमा फाइल बुझेका छौँ, अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्नेछौँ । दर्ता प्रक्रियामा विभागले सहयोग गर्छ,’ उनले भने ।

बैंक दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए । बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको प्रस्तावित बैकका अध्यक्ष भण्डारीले बताए । उनले आजबाट विधिवत रुपमा बैंक दर्ता प्रक्रिया अघि बढेको जानकारी दिए । बैंक दर्ताका लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ । ऐनअनुसार बैकको स्वीकृति नेपाल राष्ट्र बैकले प्रदान गर्छ ।
गत माघ १७ गते काठमाडौंमा सम्पन्न प्रारम्भिक भेलाले सम्पूर्ण प्रक्रिया पूरा गरी दर्ता प्रक्रिया अघि बढाएको थियो । भेलाले २५ सदस्यीय सञ्चालन समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिसकेको छ ।

देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंक दर्तासँगै राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिने अध्यक्ष भण्डारीले बताए । विभागले स्वीकृत दिएलगत्तै राष्ट्र बैंकले सहकारी क्षेत्र समेट्ने गरी दोस्रो सहकारी बैंक स्थापना हुनेछ । अध्यक्ष भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंकसम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबारबाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिनाधितो ठुलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस भएको बताए ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु