गृहपृष्ठ उस्तै छ शैली कर्णालीको : आर्थिक वर्ष सकिन लाग्दा विकास निर्माणमा भ्याइ-नभ्याई

उस्तै छ शैली कर्णालीको : आर्थिक वर्ष सकिन लाग्दा विकास निर्माणमा भ्याइ-नभ्याई

यस वर्षको बहाना कोरोना महामारी र लकडाउन

पूर्वाधार विकास निर्देशनालय सुर्खेतअन्तर्गत माघ महिनामा योजना सम्झौता भई काम सुरु भएको प्रदेश राजधानी सडकको निर्माण कार्य अहिले पनि जारी छ । असार लागिसक्दा समेत सडक निर्माणको काम रोकिएको छैन । तीनवटा प्याकेजमा निर्माण हुन लागेको उक्त सडकको बजेट १६ करोड रुपैयाँ रहेको छ । पहिलो चरणमा ८, दोस्रोमा ५ र तेस्रो चरणमा ३ करोड खर्च गर्नेगरी उक्त योजनाको सम्झौता भएको हो ।

जेठमा मात्र २१ वटा योजनाका टेन्डर खोलिएको निर्देशनालयले जनाएको छ । तर उक्त टेन्डरको सम्झौता भने अझै हुन नसकेको निर्देशनालय प्रमुख बासु पौडेलले बताए । ‘सूचना चैत्रभन्दा अगाडि नै निकाले पनि लकडाउनको कारणले जेठ महिनामा मात्र टेन्डर खोलिएको हो,’ उनले भने, ‘केही समयमा सम्झौता गर्ने तयारीमा छौं ।’ काम अगाडि नबढेका योजनाहरुलाई भने क्रमागतमा राखी आगामी वर्ष सक्ने तयारी रहेको समेत उनले बताए ।

सुर्खेतको चिङगाड गाउँपालिकास्थित अवलचिङ-पाम्का सडक निर्माणको काममा डोजर प्रयोग भइरहेको छ । करिब ४० लाख रुपैयाँ बजेटको सो योजनाको काम असार लागिसक्दा समेत धमाधम छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव देवकोटाका अनुसार चैत्रअगाडि नै गरिएको सम्झौताका कामहरु सञ्चालन भइरहेका हुन् । हाल साना योजनाहरुको सम्झौता भए पनि ठूला योजनामा भने सम्झौता गरिएको छैन । गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६४ लाख बजेट रहेको योजनाको फिल्ड खन्ने कामसमेत सञ्चालन भइरहेको उनले बताए ।

स्थानीय तथा प्रदेश सरकारका प्रतिनिधिहरुलाई पनि असारकै महिना योजना अनुगमनमा भ्याइ-नभ्याई छ । सम्झौता गरेदेखि काम सक्ने समयसम्म असार सकिन्छ । वर्षाको समयमा विकास बजेट सक्ने प्रवृत्ति भने अझै उस्तै छ । सडक, कुलो, भवन लगायतका योजनाका नाममा असारमा बजेट सक्न यतिबेला सरकारका तीनै तहलाई उत्तिकै चटारो छ ।

असार सकिन करिब तीन हप्ता मात्र बाँकी छँदा अहिले पनि स्थानीय तहहरु सडक, सडकका नाला, कुलो र विद्यालयका भवन निर्माणका कामहरु गरिरहेका छन् । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले लकडाउनअघि काम सुरु भएर अधुरा रहेका केही साना योजनाहरुको काम अघि बढाइएको बताए । कामको गुणस्तरमा कुनै सम्झौता नहुने र नियमित अनुगमन गर्ने गरिएको उनले दावी गरे । अहिले कोरोनाका कारण विकासका काम खासै गर्न नपाइएको उनको भनाइ छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले लकडाउनअघि सम्झौता भएर टेण्डर भएका, अधुरै रहेका सडकको नाला खन्ने, ग्राभेल हाल्ने र सिँचाई कुलो निर्माण गर्ने काम भइरहेको बताए ।

आर्थिक वर्षको अन्तिममा आएर बजेट खर्च गर्ने काम मात्र भएको गुनासो नागरिकको छ । वीरेन्द्रनगर- १४ का बिरु थापाले सडकका नाला खनेर सडक हिलो बनाउने काम भइरहेको बताए । ‘बर्खामा सडक नाला खनेर झन् हिलो बनाउने काम मात्रै भएको छ । यसले विकासभन्दा पनि समस्याहरु निम्त्याउँछ,’ उनले भने ।

कर्णालीका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु ‘असारे विकास’को अनुगमनमा यतिबेला व्यस्त छन् । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले आफू पनि अहिले योजना अनुगमनमै व्यस्त रहेको बताइन् । उनले मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको जानकारी दिइन् । ‘ढिला अख्तियारी आएका कारण कार्यक्रमहरु ढिला नै सञ्चालनमा आएका हुन्,’ उपप्रमुख ढकालले भनिन्, ‘लकडाउनका कारण रोकिएका साना योजनामात्रै वीरेन्द्रनगर नगरपालिकाले अगाडि बढाएको हो ।’

प्रदेश सरकार स्थापना कालदेखि नै ‘असारे बजेट’को अन्त्य गर्ने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रतिवद्धता केवल बोलीमै मात्र सीमित भएको छ । जेठ मसान्तसम्म आर्थिक वर्ष २०७६/२०७७ को बजेटमध्ये पुँजीगततर्फ ३ अर्ब ५ करोड ९२ लाख अर्थात् १४.३६ प्रतिशत खर्च भएको छ । चालु र पुँजीगत गरी ६ अर्ब ९५ करोड ६९ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयकी सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार विनियोजन गरिएको बजेटको २०.२५ प्रतिशत मात्रै खर्च भएको हो ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु