गृहपृष्ठ कोभिड-१९ कारण ३१ प्रतिशतले गुमाए आम्दानी

कोभिड-१९ कारण ३१ प्रतिशतले गुमाए आम्दानी

हरेक १० मध्ये १ को रोजगारी गुम्यो

Impact of COVID19_NewsKarobar

कोरोना भाइरस महामारी (कोभिड-१९)को संक्रमण नफैलियोस् भनेर लगाइएको घरबन्दीका कारण हरेक १० मध्ये तीन घरपरिवारले आफ्नो आयआर्जन गुमाएको एक अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र अष्ट्रेलियन एडले संयुक्त रुपमा गरेको सर्वेले ३१ प्रतिशत नेपालीले आफ्नो आयआर्जन गुमाएको देखाएको हो ।

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीमार्फत  गत वैशाखमा देशभरिका ४ हजार ४१६ परिवारमाझ गरिएको सर्वेले हरेक १० मध्ये १ जनाले रोजगारी गुमाएको देखाएको हो । अध्ययनअनुसार घरबन्दीका कारणा सबैभन्दा बढी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ सबैभन्दा बढी प्रभावित भएका छन् भने गण्डकी, प्रदेश १ र बागमतीमा तुलनात्मक रूपमा केही कम प्रभावित भएका छन् ।

अध्ययनमा सहभागीमध्ये प्रदेश ५ का ४२ प्रतिशतले आफ्नो आय गुमेको बताए भने कर्णाली र सुदूरपश्चिमका ३४-३४ प्रतिशत र प्रदेश २ का ३३ प्रतिशतले आय गुमेको बताएका छन् । बागमतीका २८ प्रतिशत, प्रदेश १का २३ प्रतिशत र गण्डकीका २२ प्रतिशतले आय गुमेको बताएका छन् । गरिबीको लघुक्षेत्र अनुमानअनुसार गण्डकी प्रदेशमा गरिबीका अनुपात नेपालमै सबैभन्दा कम छ ।

घरबन्दीका कारण रोजगारी गुमाउनेहरू पनि  प्रदेश ५, कर्णाली र सुदूरपश्चिममै बढी भएकाले देशको पूर्वी र मध्य क्षेत्रका तुलना पश्चिमी क्षेत्रमा आयआर्जन गुमाउनेहरूका संख्या पनि बढी भएको हो ।

जीविकोपार्जनका स्रोत गुमाउनेहरूमा एक चौथाइ दैनिक ज्यालादारीमा काम गर्नेहरू छन् भने त्यसपछि ठूलो संख्यामा आप्रवासी श्रमिक वा रेमिट्यान्स प्राप्त गर्ने परिवारहरू छन् । झन्डै १३ प्रतिशत आप्रवासी श्रमिक वा रेमिट्यान्स प्राप्त गर्ने परिवारले बन्दाबन्दीका कारण जीविकोपार्जनका स्रोत गुमाएका छन् ।

यसैगरी साङ्गका तुलनामा अत्यधिक मात्रामा अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी र आयआर्जन गुमाएको यो अध्ययनले देखाएको छ, औसत ११.३ प्रतिशत साङ्ग व्यक्तिका घरपरिवारले रोजगारी गुमाउँदा अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाउने अनुपात १३.४ प्रतिशत छ ।

अध्ययनले २३ प्रतिशत घरपरिवारमा अपर्याप्त खाद्य उपभोग रहेको, जसमध्ये ६ महिनादेखि २ वर्षमुनिका ४६ प्रतिशत न्यूनतम आहार विविधता पूरा गर्न नसकेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ७८ प्रतिशतले आफूसँग खाद्यान्न मौज्दात रहेको बताए पनि ३३ प्रतिशतसँगमात्र एक महिनाभन्दा अधिकलाई पुग्ने खाद्यान्न सञ्चित थियो भने १७ प्रतिशतसँग एक महिनालाई पुग्ने र १४ प्रतिशतसँग केबल २-३ हप्तालाई पुग्नेमात्रै खाद्यान्न सञ्चित थियो ।

यो वैशाखमा नै गरिएको सर्वे भएकाले एक तिहाइ नेपालीहरू अहिले तीन महिना लामो घरबन्दीका कारण खाद्य संकटमा परेको देखिन्छ । कुल उत्तरदातामध्ये २२ प्रतिशतले खाद्यान्न सञ्चितिमा नरहेको बताएका थिए भने २८ प्रतिशतले एकदेखि तीन हप्तासम्म पुग्ने खाद्यान्न सञ्चित भएको बताएका थिए ।

यो पनि पढ्नु होस्ः

घरबन्दीबाट झन्डै ८४ लाख नेपाली ‘अतिप्रभावित’

घरबन्दीका कारण ३७ लाख नेपाली रोजगारी संकटमा

 

 

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु