गृहपृष्ठ बिहे खर्चका लागि छुट्याएको जग्गा अस्पताललाई दान

बिहे खर्चका लागि छुट्याएको जग्गा अस्पताललाई दान

jagga.newskarobar

ताप्लेजुङका एक भट्टराई दाजुभाइले आफ्नो बिहे खर्चका लागि बुबा–आमाले छुट्याएर राखेको जग्गा अस्पताललाई दान गरेका छन् । मैवाखोला गाउँपालिका–३, लुकुवाकमा निर्माणाधीन अस्पतालका लागि स्थानीय रवीन्द्र भट्टराई र नवराज भट्टराईले आफ्नो नाममा रहेको ६ रोपनी ९ आना जग्गा दान गरेका हुन् । उनीहरूका बुवा स्वर्गीय भवानीप्रसाद पनि समाजसेवी एवं कृषक थिए ।

भवानीप्रसाद र तुलसीमाया भट्टराईका १२ जना सन्तान छन् । तीमध्ये दुई दाजुभाइको बिहेका लागि भट्टराई दम्पतीले जग्गा छुट्याएर राखेका थिए । तर, आफैं कमाएर बिहे गरेकाले जग्गा अस्पताललाई दिइएको रवीन्द्र भट्टरार्इले बताए ।

jagga.newskarobar
अामा तुलसीमाया भट्टरार्इ

अस्पताललार्इ जग्गा प्रदान गर्न पाउँदा आमा तुलसीमाया पनि दंग छिन् । ‘अस्पताल नहुँदा पहिले निक्कै दुःख थियो,’ उनले विगत सम्झिइन्, ‘उपचारका लागि धरान पुग्न ६ दिन लाग्ने भएकाले सामान्य रोगले पनि धेरैलाई थला पार्थ्यो । धामी झाँक्रीले उपचार हुँदैन भनेपछि सकिन्थ्यो ।’ त्यही पीडाले पनि उनलार्इ अस्पताललार्इ सहयोग गर्न प्रेरित गर्यो ।

मैवाखोला गाउँपालिका–३ मा एउटा स्वास्थ्यचौकी छ । त्यही स्वास्थ्यचौकीलाई विस्तार गरी १५ शय्याको अस्पताल बनाउने लागिएको छ । ‘घर छेउमै ठूलो अस्पताल बन्ने खबरले साह्रै खुसी लागेको छ,’ तुलसीमायाले भनिन्, ‘अस्पतालका लागि जग्गा प्रदान गर्न पाउँदा निकै खुसी छौं । गाउँमै अस्पताल भएपछि धेरैको मृत्यु अकालमा नहोला कि !’

मैवाखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिवस लिम्बूले जग्गा उपलब्ध भएकाले अस्पताल निर्माणका लागि बजेट प्रबन्ध गर्नतर्फ लागिएको बताए । ‘यो जग्गामा केन्द्रीय सरकारको योजनाअनुसार गाउँपालिकास्तरकै अस्पताल बनाउन पहल गर्छौं,’ उनले भने । सांसद योगेश भट्टरार्इको जन्मस्थलसमेत भएकाले अस्पताल निर्माणका लागि केन्द्रबाट सहयोग हुनेमा वडाध्यक्ष लिम्बू आशावादी छन् ।

भट्टराई दाजुभाइले अस्पताललाई प्रदान गरेको जग्गाको मूल्य हाल ६५ लाख रूपैयाँबराबर छ । रवीन्द्र भट्टराई सेयर विश्लेषक हुन् ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु