गृहपृष्ठ आत्मनिर्भर बन्दै मुक्तहलिया समुदायका महिला

आत्मनिर्भर बन्दै मुक्तहलिया समुदायका महिला

kanchanpur-mahila-newskarobar

कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् । दैनिक मजदुरी गरेर चार सय कमाउँदै आएका महिला तालिम पश्चात पाँच सयदेखि सात सयसम्म कमाउन थालेका छन् ।

‘साँझ बिहानको खानाको जोहो गर्न र बालबालिकाको विद्यालय तथा लताकपडा खर्च जुटाउनका लागि श्रीमानले भारतमा मजदुरी गर्दै आउनुभएको छ’ पुष्पा कोलीले भनिन्, ‘त्यसबाट जीविका धान्न निकै मुस्किल छ ।’

मुक्तहलिया महिलाको जीवनस्तरमाथि उठाउनका लागि सञ्चालित दुई महिने तालीममा सहभागी भएपछि ज्यालामा बढोत्तरी भएको उनले बताईन् । डकर्मीको कार्य गर्ने सीप नहँुदा मजदुरी गर्नुपर्ने विगतको बाध्यता रहेपनि अहिले तालिम लिएपछि इँट्टा राख्ने, गाह्रो राख्ने र पिल्लर बाँध्ने कार्य गर्नसक्ने भएको उनले बताए ।

यस कार्यले ज्याला बढेपछि परिवारको खर्च चलाउन सहज सहज भएको छ । तालिमका सहभागी जानकी टमटाका श्रीमानसमेत भारतको नयाँदिल्लीमा रोजागरीमा छन् । घर बासका लागि मात्रै जग्गा भएका टमटाका परिवारको खर्च भारतकै कमाइले चल्दै आएको छ ।

श्रीमानको कमाइले मात्रै चार जना परिवारको जीविका चलाउन मुस्किल हुन थालेपछि आफूले तालीम लिएपछि डकर्मीको कार्य गर्न थालेको बताउँदै जानकीले भनिन्, ‘श्रीमानले भारतबाट कमाउने पैसा भन्दा बढी डकर्मी पेशामा आवद्ध भएपछि कमाउन थालिएको छ’ उनले भनिन्, ‘महिलाले घरको कामकाज मात्रै गर्नुपर्दछ भन्ने मान्यतालाई तोड्दै महिलाले पनि पुरुष सरह कार्य गर्न सक्छ, श्रीमान्कै कमाइमै भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनुपर्दछ ।’

मजदुरी गर्दै आएका श्रीमानभन्दा तालीमले गर्दा बढी पैसा ज्यालाबापत पाउन थालेको कलावती कामीले बताइन् । ‘श्रीमानलाई समेत अहिले तालीम लिनका लागि दबाब दिन थालेको छु ।’

घरको आर्थिक अवस्था कमजोर भएर सुना सार्किले बिचमै पढाइ छाडे पनि व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्न डकर्मीको तालीम लिएकी छिन् । प्रारम्भिक तालीम लिएर मात्रै पुग्दैन उनी भन्छिन्, ‘थप तालीम पाए प्रशिक्षक बनेर आर्थिक रुपमा विपन्न वर्गका समुदायका व्यक्तिलाई तालीम दिई दक्ष बनाउने इच्छा भए पनि त्यो पूरा हुन पाएको छैन, निःशुल्क तालीम दिने सहयोगी संस्थाको खोजीमा छु ।’

आइएलओको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गत मुक्त हलियाका २५ जना महिलाले छ महिना अघि डकर्मीका तालीम लिएका हुन् । तालीम लिएकामध्ये थोरै महिला मात्र डकर्मी पेशामा आबद्ध भएका छन् ।

मुक्तहलियाका १२५ महिलालाई स्वरोजगार बनाउन केश शृङ्गार, मोबाइल मर्मत, मोटरसाइल मर्मत, पेन्टिङ र डकर्मी लगायतका तालीम दिइएको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले जानकारी दिए । तालीम लिएका अधिकांश स्वरोजगार भई आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेको उनको भनाइ छ ।

(राजेन्द्रप्रसाद पनेरु-रासस)

प्रकाशित समय २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु