गृहपृष्ठ रामपुर क्याम्पसमा ६ वर्षपछि पढाई शुरु
रामपुर क्याम्पसमा ६ वर्षपछि पढाई शुरु
त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो ।
त्रिवि र एएफयुबीचको विवादका कारण बन्द भएको रामपुर क्याम्पसमा औपचारिकरुपमा पूर्वी चितवनको खैरहनी मावि परिसरमा शुरु गरिएको हो । त्रिविको कृषि क्याम्पसको शुरुवात गर्दै त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले सबैको पहलबाट चितवनमा पुनः त्रिविले कृषि संकायको पठनपाठन गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सरकारले त्रिविलाई चैनपुरको भूतियास्थित कंकाली सामुदायिक वनमा जग्गा दिने प्रक्रिया अघि बढेकाले जिल्लामा नै त्रिविको उत्कृष्ट कृषि क्याम्पस स्थापना हुने बताए । उनले रामपुरमा त्रिविले पाउने ४० बिघा जग्गामा नमुना इन्जिनियरिङ क्याम्पस खोलिने बताए ।
त्रिविका कृषि संकायका डिन प्रा. डा. केशव अधिकारीले छ वर्षपछि पुनः चितवनमा कृषि पढाई गर्न पाएकोमा खुशी व्यक्त गरे । त्रिविले २०६९ सालदेखि रामपुर क्याम्पसमा भर्ना लिन नपाएको भन्दै उनले अब भने विद्यार्थीको कृषि पढ्ने चाहनामा केही हदसम्म सहयोग पुग्ने उल्लेख गरे ।
सो अवसरमा जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया, नेपाली कांंग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले जिल्लामा त्रिविले कृषि क्याम्पस पुनःस्थापना गरेकोमा खुशी व्यक्त गरे ।
वि.सं २०२९ सालमा रामपुरमा त्रिविले कृषि क्याम्पस स्थापना गरेको थियो । एक वर्षे जेटिए, दुई वर्षे आइएससी एजी हँुदै विद्यावारिधिसम्मको पढाई हुने गरेको थियो । सरकारले सो ठाउंँ एएफयुलाई दिएसंँगै त्रिविका कार्यक्रम हटेका हुन् । सरकारले रामपुरमा रहेको ३ सय ९४ बिघा जग्गामध्ये ४० बिघा त्रिविलाई इन्जिनियरिङ कार्यक्रम चलाउन दिने र बांँकी एएफयुलाई दिने निर्णय गरेको छ । रामपुर छोडेवापत त्रिविलाई कृषि संकाय पढाउन चैनपुरमा ३ सय ५४ विघा जग्गा दिन लागिएको हो ।
(रासस)
प्रकाशित समय २१:३७ बजे

















