गृहपृष्ठ सरकारी विद्यालयको भवन निजी बैंकलाई भाडामा
सरकारी विद्यालयको भवन निजी बैंकलाई भाडामा
दोलखाको एक सरकारी विद्यालयले सुविधासम्पन्न विद्यालय भवन निजी बैंकलाई भाडामा दिएको छ । विद्यार्थी भने टहरामा पढ्न बाध्य छन् ।
मेलुङ गाउँपालिका–४ मा रहेको भीम माध्यमिक विद्यालयको भवन सानिमा बैंकलाई मासिक १५ हजार रुपैयाँका दरले भाडामा दिइएको हो । ‘बैंकको सुरक्षालाई मध्यनजर गर्दै एक वर्षका लािग विद्यालय भवन भाडामा दिएका हौं,’ मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले भने, ‘स्थानीयबासी, विद्यालय परिवार र गाउँपालिका बसेर निर्णय गरिएको हो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोलेले विद्यालयमा पढाउने शिक्षककै बच्चा निजी विद्यालयमा पढ्दा कोही नबोल्ने तर भवन अभाव रहेकाले सहजताका लागि बैंकलाई भाडामा दिँदा प्रोपोगाण्डा गर्नुले आश्चर्यचकित बनाएको बताए । ‘विद्यार्थीले प्रयोग गरेर बाँकी रहेको कोठा सानिमा बैंकलाई दिएका हौं,’ गोलेले भने, ‘यो पश्चायती शैलीमा विरोध गर्नेहरुको झुन्डले गरेको प्रोपोगाण्डा हो ।’ विद्यालय भवन भाडामा दिन मिल्दैन भन्ने थाहा हुँदाहुँदै पनि गाउँपालिका तथा स्थानीय बासिन्दाको सहजताका लागि केही समयका लागि दिइएको उनले प्रस्टोक्ति छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ९० लाख लगानीमा केही अघि मात्र विद्यालय भवन निर्माण भएको हो । विद्यालयमा हाल १ सय २४ विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित समय १७:०८ बजे

















