गृहपृष्ठ उपचार प्रबन्ध र व्यवस्थापनप्रति खुसी हुँदै घर फर्किए ६ जना संक्रमित

उपचार प्रबन्ध र व्यवस्थापनप्रति खुसी हुँदै घर फर्किए ६ जना संक्रमित

बुधबार डिस्चार्ज गरिएका ६ जना।

कोरोना संक्रमितहरू उपचारपछि निको भएर घर फर्कन पाएकामा खुसी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ बुधबार निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रसन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य संक्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् ।

धार्मिक कार्य गर्न भारतबाट १३ जनाको जमात (समूह) बनाएर आएका ती जमाती (समूह सदस्य)लाई कोरोनाको संक्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड- १९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो ।

प्रदेश नं १ मा पहिलोपटक यति धेरै संख्यामा कोराना संक्रमित देखिएपछि प्रदेश सरकारले संक्रमण  बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।

यी जमातीहरु गत मंसिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । संक्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पीसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।

घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर- १५ स्थित मर्कज (पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र) मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा संक्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने, ‘यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो ।’ मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पीसीआर परीक्षणका लागि तीन हजार र १४ जिल्लामा द्रुत परीक्षणका किट (आरडीटी) लागि सात हजार व्यवस्था गरिएको बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले निको भएर घर जान लागेका पूर्व संक्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु