गृहपृष्ठ संखुवासभामा पहिरो : ४ जनाको उद्धार, हराइरहेका ११ को पहिचान

संखुवासभामा पहिरो : ४ जनाको उद्धार, हराइरहेका ११ को पहिचान

पहिरो प्रभावित गाउँ । (तस्बिर स्रोत : सामाजिक सञ्जाल)

संखुवासभाको सिलिचोङ गाउँपालिका- १, सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका

जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।

अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो ।

घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको डीएसपी मल्लले जानकारी दिए । घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र इन्स्पेक्टर सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ ।

त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ ।

सिलिचोङका केही स्थानमा यसअघि पनि विभिन्न समयमा पहिरो जाँदा धनजनको क्षति भएको थियो । गाउँपालिकाका केही बस्तीलाई अन्यत्रै सार्न जिल्ला दैविक प्रकोप समितिले सिफारिस गरेको थियो ।

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु