गृहपृष्ठ आंशिकबाहेक लकडाउन खुलेपछि चहलपहल ह्वात्तै बढ्यो

आंशिकबाहेक लकडाउन खुलेपछि चहलपहल ह्वात्तै बढ्यो

भीडभाडमा असावधानीले कोरोना फैलने खतरा

Movement_NewsKarobar

सरकारले असार १ गतेबाट आंशिक (सार्वजनिक यातायात)बाहेक लकडाउन खोलेपछि मानिसहरूको चहलपहल ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासहितका देशका प्रमुख सहरी क्षेत्रहरूमा त मानिसहरूको हिँडडुल बाक्लो भइसकेको छ ।

गुगलले ‘गुगल म्याप’मा रेकर्ड भएको विवरणअनुसार सार्वजनिक गरेको पछिल्लो तथ्यांकले खुद्रा पसल तथा मनोरञ्जन स्थलदेखि कार्यस्थलसम्म मानिसहरूको चहलपहल बढेको देखाएको छ ।

मानिसहरूको बढ्दो चहलपहलसँगै भीडभाडमा जाँदा स्वास्थ्य सावधानीका विषयमा लापरवाहीले कोरोना भाइरस संक्रमण विस्तारको जोखिम बढाएको छ । मानिसहरू मास्कबिना र न्यूनतम भौतिक दूरी कामय नराखी बजारमा किनमेलका लागि तथा कार्यस्थलमा पुग्ने गरेका छन् ।

गत अप्रिल २४ देखि मे ७ तारिखसम्म (वैशाख १२ देखि २५ गतेसम्म) खुद्रा व्यापार हुने स्थलहरू, रेष्टुँरा, थिम पार्क, संग्रालहलय, पुस्तकालय, सिनेमा हलसहितका स्थलमा मानिसहरूको हिँडडुल औसत ७६ प्रतिशतले घटेकोमा जुलाई १ (असार १६ गते)यता यो औसत ३२ प्रतिशतमा झरेको छ । यसको अर्थ औसतमा ५८ प्रतिशतले मानिसहरूको चहलपहल बढेको छ ।

गुगलले २८ मे (१५ जेठ)को आधार विन्दु मानेर जुलाई ७ (असार २३ गते)सम्म औसत ३२ प्रतिशतले यी स्थानहरूमा हिँडडुलमा कमी आएको उल्लेख गरेको छ ।

यसअघि, १२ मे (३० वैशाख)को आधार विन्दु मानेर जुन २३ (असार ९ गते)सम्म औसत ३५ प्रतिशतले यी स्थानहरूमा हिँडडुलमा कमी आएको उल्लेख गरेको थियो ।

यसैगरी, गत अप्रिल २४ देखि मे ७ तारिखसम्म (वैशाख १२ देखि २५ गतेसम्म) कार्यस्थलहरूमा मानिसहरूको उपस्थिति औसत ६६ प्रतिशतले घटेकोमा जुलाई १ (असार १६ गते)यता यो औसत २१  प्रतिशतमा झरेको छ ।

यसले कार्यस्थलहरूमा मानिसहरूको उपस्थिति वैशाखका तुलनामा ६८ प्रतिशतले बढेको देखाउँछ । गुगलले भने २८ मे (१५ जेठ)को आधार विन्दु मानेर जुलाई ७ (असार २३ गते)सम्म कार्यस्थलहरूमा मानिसहरूका चहलपहल प्रवृत्ति २८ प्रतिशतले घटेको देखाएकोछ । यसको अर्थ ती स्थानहरूमा पुग्ने मानिसको अनुपात एक महिनाअघिका तुलनामा ७२ प्रतिशतका हाराहारीमा  छ ।

यसअघि १२ मे (३० वैशाख)को आधार विन्दु मानेर जुन २३ (असार ९ गते)सम्म औसत ३४ प्रतिशतले यी स्थानहरूमा हिँडडुलमा कमी आएको गुगलले जनाएको थियो ।

गुगलले विश्वव्यापी रूपमा गुगल म्यापमा संग्रहित भएको विवरणका आधारमा यो विवरण सार्वजनिक गरेको हो । गुगलले निश्चित डेटासेट लिएर हरेक स्थानअनुसारका मानिसको हिँडडुलका प्रवृत्ति तयार पारिएको जनाएको छ । उसले पाँच समूह- खुद्रा पसल तथा मनोरञ्जन स्थानहरू, सुपरमार्केट र औषधि पसलहरू, पार्क, ट्रान्जिट स्टेसनहरू, कार्यस्थल र आवासीय स्थलहरूमा वर्गीकरण गरेर मानिसको हिँडडुलसम्बन्धी प्रतिवेदन तयार पारेको हो ।

 

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु