गृहपृष्ठ उद्यमी बन्दै बेलकाका महिला

उद्यमी बन्दै बेलकाका महिला

बाख्रा र गार्इ पालनमा अाकर्षण

उदयपुरको बेलका नगरपालिकाका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । गाउँमै रहेको महिला साना किसान कृषि सहकारी संस्थाको सहयोगमा उनीहरु उद्यमशीलतामा लागेका हुन् । उत्पादनमूलक र स्वरोजगार हुने गरी काम गर्न संस्थाले ५० हजारदेखि ५ लाखसम्म ऋण दिने भएपछि आफूहरु कृषि, पशुपालन, व्यापार, व्यवसायमा लागेको उनीहरु बताउँछन् ।

सहकारीमा आबद्ध ९३१ महिलामध्ये पाँच सय १९ जनाले सहकारीबाट ऋण लिएर बर्फ फ्याक्ट्री, सिलाइकटाइ, तरकारी खेती, च्याउ खेती, बाख्रा र कुखुरापालन, गाइपालन गरेका छन् ।

ऋण लिएका कतिपय महिला व्यापार–व्यवसायमासमेत लागेका छन् । गंगा श्रेष्ठ र मालती श्रेष्ठले संयुक्त लगानीमा कालिखोलामा गाईपालन गरेका छन् । संस्थाबाट ९ प्रतिशत ब्याजमा ३ लाख रुपैयाँ ऋण लिएर उनीहरुले गाइ पाल्न थालेका हुन् । सुरुमा ४ वटा गाई पालेका उनीहरुको गोठमा अहिले ७ वटा गाई छन् ।

बबलाकी कुमारी राईले ३ सयभन्दा बढी बाख्रा पालेकी छन् । डुँढखोला ८ मा दिलकुमारी राईले पनि बाख्रा पालन गरेकी छन् । ‘महिला साना किसान कृषि सहकारी संस्थाबाट ५० हजार रुपैयाँ ऋण लिएर १५/१६ वटा बाख्रा पाल्न थालेँ,’ दिलकुमारीले भनिन्, ‘अहिले ७० भन्दा बढी खसीबाख्रा छन् ।’

०६९ सालमा स्थापना भएको महिला साना किसान सहकारी संस्थाले महिलाको आर्थिक हैसियत उकास्न र हिंसाबाट मुक्त गर्ने काम गरिरहेको छ । ‘निम्न वर्गको सहभागिता, आर्थिक रूपमा पारदर्शी र सीप तथा क्षमता विकासमा नयाँ–नयाँ प्रयोग हाम्रो सहकारीको सफलता हो,’ महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष निर्मला बस्नेतले भनिन् ।

nirmala basnet-newskarobar
निम्न वर्गको सहभागिता, आर्थिक रूपमा पारदर्शी र सीप तथा क्षमता विकासमा नयाँ–नयाँ प्रयोग हाम्रो सहकारीको सफलता हो ।

सहकारीले पनि बाख्रा, कुखुरापालन, व्यावसायिक पशुपालन, तरकारी तथा फलफूल खेतीमा लगानी गर्दै आएको छ । बजारोन्मुख क्षेत्रमा सिलाइकटाइबाट कतिपयले मनग्ये कमाएका छन् । महिला साना किसान कृषि सहकारी संस्थाकी व्यवस्थापक शान्ता अधिकारी ऋण लिनेदिने मात्रै नभई यसले महिलाको आर्थिक र सामाजिक हैसियत बढाएको बताउँछिन् । उनका अनुसार संस्थामा हाल बेलका नगरपालिकाका ९ सय ३१ सदस्य छन् । तीमध्ये करिब ५ सय महिलाले ऋण लिएर विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । कसैले पशुपालन, कुखुरा पालन, बंगुलपालन गरेका छन् भने कतिपयले व्यापार–व्यवसाय गर्दै आएका छन् ।

 

‘यही संस्थाबाट ऋण लिएर थालेका कामले कतिपयको आर्थिक हैसियत उक्सदो छ,’ संस्थाकी व्यवस्थापक अधिकारीले भनिन्, ‘हामीले पनि उत्पादनमूलक काम गर्नेलाई बढी प्रोत्साहन गर्ने गरेका छौँ ।’

यही संस्थाबाट ऋण लिएर थालेका कामले कतिपयको आर्थिक हैसियत उक्सदो छ, हामीले पनि उत्पादनमूलक काम गर्नेलाई बढी प्रोत्साहन गर्ने गरेका छौँ ।

संस्थाले ५० हजार रुपैयाँ आफ्ना सदस्यलाई सामूहिक जमानीमा दिने गरेको छ भने धितो राखेर पाँच लाख रुपैयाँसम्म दिइने संस्थाकी अध्यक्ष बस्नेतले बताइन् । ‘पछिल्लो समय सदस्य पनि बढिरहेका छन्,’ बस्नेतले भनिन्, ‘यो वर्ष ३ सयभन्दा बढी सदस्य थपिने हाम्रो विश्वास छ ।’

संस्थाको चुक्ता पुँजी २ करोड ९५ लाख रुपैयाँ छ भने लगानी ३ करोड रुपैयाँभन्दा माथि छ । जगेडा कोषमा २४ लाख ८३ हजार रुपैयाँ छ । अहिले संस्थाको भवन पनि व्यवस्थित बनेको छ । यसअघि रामपुर बजारमा एउटा कोठा भाडामा लिएर संचालन हुँदै आएको सहकारीसँग अब आफ्नै भवन छ । रामपुर बजारभन्दा करिब ५ सय मिटर दक्षिणमा सहकारीको आफ्नै भवन निर्माण भएको छ ।

‘प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काको विशेष पहलमा जापानी राजदूत मासाशी ओगावाले सहकारीको भवन निर्माणका लागि ८० लाख रुपैयाँ सहयोग गर्नुभएको छ,’ अध्यक्ष बस्नेतले भनिन्, ‘तर जापानी लगानी गैरनाफामूलक संस्थालाई मात्र दिइने भएकाले नेस्पेक भन्ने संस्थाले ८० लाख रुपैयाँमा अढाइ तले भवन तयार गरिदिएको छ ।’

बेलका नगरपालिकाले पनि उत्पादनलाई जोड दिएकाले उक्त अभियानमा आफ्नो संस्थाको प्रभावकारी साथ रहने बस्नेतले बताइन् । सहकारीले यसअघि आधुनिक कृषि तालिमका लागि ९ जनालाई इजरायलसमेत पठाएको थियो । तीमध्ये ५० प्रतिशत बढी महिला नै थिए ।

बेलका नगरपालिकामा करिब ४२ हजार जनसंख्या छ । नगरभित्रै उत्पादन भएका कृषिजन्य सामाग्रि खपतका लागि रामपुर बजार, लालबजार, आम्बासी र सप्तरीको फत्तेपुरसम्मको बजार उपयोगि हुन सक्ने स्थानीय बताउँछन् ।

 

 

 

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु