गृहपृष्ठ भदौभित्र एकता टुंग्याउने नेकपाको तयारी

भदौभित्र एकता टुंग्याउने नेकपाको तयारी

Prachanda-newskarobar फाइल तस्बिर

 

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ पहिलो साताभित्र सबै तहको एकता टुंग्याउँने भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार वीरगंजमा आयोजित एक कार्यक्रममा उक्त समयावधिभित्र सबै तहको एकता टुंग्याउँने बताएका हुन् ।

केन्द्रीय तहमा दुई पार्टी एक भइसकेको भए पनि जिल्ला तथा स्थानीय तहको एकता अझैसम्म पनि हुन सकेको छैन । केन्द्रमा एकता भई एउटै पार्टी बनीसके पनि तल्ला तहमा भने अझैसम्म एमाले र माओवादी दुइवटा पार्टीका संगठनहरु अस्तित्वमा छन् । तल्ला तहमा विद्यमान पूरानै संरचनाका कारण धेरै स्थानमा संयुक्त रुपमा कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ ।

स्थानीय, जिल्ला तथा प्रदेश तहसम्मको एकतालाई अघि बढाउन नसक्दा केन्द्रमा जेठ ३ देखि एउटै पार्टी भए पनि तल्ला तहमा अझै एमाले र माओवादी दुइवटै पार्टी छन् । आ–आफ्ना कार्यालय छन्, संगठन संरचना छन्, अर्थात् दुइवटा पार्टी छन् । यसले कार्यकर्तामा एकीकरणको वास्तविक अनुभूति दिलाउन नसकेको भन्दै नेताहरुको आलोचनासमेत हुने गरेको छ ।

त्यसैप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले भदौ पहिलो साता भित्र स्थानीय तहसम्मकै एकता पूरा गर्ने बताएका हुन् । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको भेलालाई सम्बोधन गर्न वीरगंज पुगेका प्रचण्डले मिति नै तोकेर भदौ ५ सम्म एकतालाई पूर्णता दिने बताएका हुन् । साउन २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा एकता टुंग्याउँने उनको भनाई थियो ।

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोसीलाई अस्वीकार गरेको प्रसंगमा आफूहरुले संसदीय सर्वाेच्चतालाई महत्व दिएको प्रचण्डको भनाई थियो । संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने तथा संसदीय समितिले छानविन गरी निर्णय गर्न सक्ने दुई फरक धारणा रहेको बताएका उनले आफूहरुले संसदीय सर्वाेच्चतालाई महत्व दिएको बताए ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु