गृहपृष्ठ नोबेल मेडिकल कलेजले ४ लाख लिएर आफन्तलाई शव बुझायो

नोबेल मेडिकल कलेजले ४ लाख लिएर आफन्तलाई शव बुझायो

nobel_medical_college

विराटनगरस्थित नोबेल मेडिकल कलेजले उपचार खर्च नदिएको भन्दै तीन दिनदेखि रोकेर राखेको शव ४ लाख ४ हजार रूपैयाँ बुझाएपछि आफन्तलाई हस्तान्तरण गरेको छ । उपचारका क्रममा खर्च भएको रकम नदिएको भन्दै मेडिकल कलेजले शव रोकेर राखेपछि आफन्तले ऋण खोजेर उक्त रकम तिरेको बताएका छन् ।

मोरङस्थित कटहरी गाउँपालिका-३ का ३२ वर्षीय दीपक मिश्रको शव मेडिकल कलेजले उपचारको खर्च नदिएको भन्दै अस्पतालमै राखेको थियो । उनको शव आफन्तलाई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पहल गरेको थियो । यद्यपी मेडिकल कलेजले पैसा नपाएसम्म शव दिएन ।

तीन दिनदेखि मेडिकल कलेजले शव नियन्त्रणमा राखेको खबर सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिनाशर्त शव दिन निर्देशन दिएको थियो । तर, मन्त्रालयले दिएको निर्देशन नोबेल मेडिकल कलेज विराटनगरले अवज्ञा गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालमा टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका थिए । महाशाखा प्रमुख सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरेर बिना शर्त शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिएका थिए । तर, सिंहको उक्त निर्देशन पालना भएन ।

अस्पतालले पीडितबाट औषधि र अस्पतालको सबै चार्ज लिएर शव बुझाएको मृतककी श्रीमती अनिता मिश्रले जानकारी दिइन् । बिहीबार आफन्तले अस्पतालमा एक लाख ५३ हजार, अस्पताल भित्र रहेको फार्मेसीको ९० हजार सँगै बाहिरको फार्मेसीबाट औषधि लिएको एक लाख २५ हजार, अस्पतालको क्यान्टिकको ३६ हजार गरी ४ लाख ४ हजार रुपैयाँ ऋण तिरेपछि अस्पतालले शव आफन्तलाई दिएको हो ।

मृतकका दाईले सबै रकम ऋणमा लिएर अस्पतालमा बुझाएको बताए । बिहीबार कोशी अञ्चल अस्पतालमा पोस्मार्टम गरेपछि मिश्रको अन्तिम संस्कार गरिएको छ । नोबेल मेडिकल कलेजले भने ५० प्रतिशत रकम छुट गरेर शव आफन्तको जिम्मा लगाएको बताएको छ । मन्त्रालयबाट आफन्तलाई शव जिम्मा लगाउन आएको निर्देशनबारे प्रशासकीय अधिकृतले आफूलाई जानकारी नभएको बताए ।

साउन २ गते विराटनगर महानगरनगरपालिका-४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको उपचारको क्रममा मंगलबार दिउँसो ११ बजे मृत्यु भएको थियो ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु