गृहपृष्ठ जनकपुरमा संविधान दिवसको रौनक छैन
जनकपुरमा संविधान दिवसको रौनक छैन
मधेसवादी पार्टी कालो दिवस र अन्य पार्टी खुशियाली दिवसको पक्षमा
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा असोज ३ गते संविधान दिवस मनाउने सवालमा राजनीतिक दलहरु पक्ष विपक्षमा देखिएका छन ।
सर्वसाधारण जनतादेखि लिएर पार्टीगत हिसाबले समेत संविधान दिवसलाई लिएर दुई धारमा बाँडिएका छन् । खास गरी मधेसवादी पार्टीहरु मिलेर बनेको प्रदेश २ को सरकार पनि संविधान दिवस मनाउने कि संविधान दिवसको विरोधमा जाने असमन्जसका बीच मध्यमार्गी बाटो अपनाउने दाउमा देखिएको छ ।
संघीय सरकारले सातै प्रदेशलाई परिपत्र गर्दै असोज ३ गते संविधान दिवसका रुपमा मनाउन आदेश दिएको छ ।
प्रदेश २ सरकारको नेतृत्व फोरमका लालबाबु राउतले गरिरहेका छन् । उता फोरमकै अध्यक्ष उपेन्द्र यादव संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । त्यसैले फोरमले औपचारिक रुपमा विरोध पनि नगर्ने र खुशियाली समेत नमाउने निर्णय गरिसकेको छ ।
यता, प्रदेश २ मा संघीय समाजवादी पार्टीलाई सहयोग गर्दै सरकार बनाएका राष्ट्रिय जनता पार्टी (राजपा) ले कालो दिवस मनाउने भन्दै प्रदेशमन्त्रीहरुलाई नै जिल्लाको कमाण्ड गर्ने जिम्मेवारी दिएको छ ।
पार्टीगत हिसाबले कालो दिवस वा जे गरेपनि प्रदेश २ सरकारले भने संविधान दिवस मनाउने छनक दिएको छ । संघीय सरकारको परिपत्रको खातिर भए पनि प्रदेश सरकारले जनकपुर चुरोट कारखाना भित्र विहान बृक्षारोपण गर्दै संविधान दिवस मनाउने तयारी थालेको छ । प्रदेश २ को सरकारले मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारी गरेको छ ।
प्रकाशित समय २०:३७ बजे

















