गृहपृष्ठ उपत्यकामै अलपत्र एक किमि सडक
उपत्यकामै अलपत्र एक किमि सडक
राजधानीमै एक किमि सडक निर्माण सुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीयवासी धुलो एवम् हिलोबाट पीडित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित चामुण्डा मन्दिरबाट वडा नं ८ आरुबारी पुग्ने करीब एक किमी सडक वर्षौदेखि अलपत्र छ ।
आठ मिटर चौडाइको सडक कालोपत्र सुरु भएको दुई वर्ष बितिसक्यो तर काम सकिएको छैन । लामो समयदेखि सडक नबन्दा धुलोले टिक्न नसकिएको स्थानीय लालबहादुर रोक्काले गुनासो गरे ।
सडकमा कतै आयोजना सूचना पार्टीसमेत नराख्दा केही जानकारी पाउन नसकिएको उपभोक्ताको भनाइ छ । घर भत्काउन मुआब्जा दिनुपर्ने भएकाले उपलब्ध सडकमै कालोपत्र गर्न लागिएको सडक डिभिजन काठमाडौँका प्रमुख कैलाशनाथ श्रेष्ठले बताए ।
घर नपर्ने स्थानमा भने सडक आठ मिटर बनाइएको छ । आरुबारीबाट माथि जाने वैकल्पिक सडक भएकाले स्थानीयवासीलाई अनुरोध गरेर आठ मिटर कायम गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।
सडक निर्माण गर्दा तल्लो भागमा ठूला ढल हाले पनि माथिल्लो भागमा सानो ढल हाल्दापछि समस्या आउने देखिएको स्थानीयवासी निशा लामाले बताइन । यो सडक निर्माण गरिरहेको पिआर निर्माण व्यवसायीसँग यससम्बन्धी लागत अनुमान मागे पनि पाउन नसकिएको उनको भनाइ थियो ।
सडक पाँच मिटर, दायाँबायाँ पेटी एक/एक मिटर तथा ड्रेन एक मिटर गरी आठ मिटरमा विस्तार गर्न आठ करोड बजेट विनियोजन भएको छ । एक महिनाभित्र काम सक्ने निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिएका सुपरभाइजर नारायण तिमल्सिनाको प्रतिबद्धता छ । -(रासस)
प्रकाशित समय १८:२४ बजे
















