गृहपृष्ठ मिटरअनुसार पैसा दिन्छु भन्ने यात्रुमाथि ट्याक्सी चालकले गरे हातपात
मिटरअनुसार पैसा दिन्छु भन्ने यात्रुमाथि ट्याक्सी चालकले गरे हातपात
गण्डकी प्रदेशको राजधानी पोखरामा केही ट्याक्सी चालकहरुको मनलाग्दी कायमै छ । मिटरमा चल्नुपर्ने प्रावधान कुल्चदै कतिपय ट्याक्सी चालकले मनलाग्दी भाडा असुलिरहेका छन् ।
पोखराको पृथ्वीचोक (बसपार्क) मा मंगलबार भेला भएका ट्याक्सी चालकहरुले मिटरमा नचल्ने बताएका हुन् । एकजना यात्रुले मिटरमा ट्याक्सी चलाउन आग्रह गर्दा ट्याक्सी चालकहरुले ‘मिटरमा चढ्न आफैँ ट्याक्सी किन्नु’ भन्दै हातपात नै गरेका छन् ।
मिटरमा चल्न आग्रह गर्ने एक यात्रुलाई ट्याक्सी चालक अनिल गुरुङले हातपात गरेका हुन् । जिल्ला ट्राफिक कार्यालय कास्कीको कार्यालयदेखि एक सय मिटरको दुरीमा ट्याक्सी चालकहरुको यस्तो दादागिरी हुन्छ भने अन्य ठाँउमा कस्तो अबस्था होला भन्दै यात्रुले गुनासो गरेका छन् ।
मिटरमा चल्न नमानेका दुई वटा ट्याक्सीको नम्बर जिल्ला ट्राफिक कार्यालयमा यात्रुले टिपाएका छन् । ग १ ज ४२२०, ग १ ज ४०१२ मिटरमा चल्न नमानेको भन्दै यात्रुले कारबाहीको माग गरेका छन् ।
कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पोखरामा मिटरमा चल्न नमान्ने ट्याक्सी चालकलाई कारबाही गरिने बताए । ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर कायम नभएकाले मिटरमा चल्न नसकिएको बताएका छन् । धेरै बर्षदेखि वैज्ञानिक भाडादर कायम नभएकाले आफूहरु मिटरमा चल्न नसकेको पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले बताए । यद्यपि, समितिमा आवद्ध एक हजार सात सय ट्याक्सी चालकलाई मिटरमा चल्न आह्वान गर्दै आएको उनले बताए ।
प्रकाशित समय १७:४९ बजे

















