गृहपृष्ठ पोखरामा पनि मनाइयो छठ

पोखरामा पनि मनाइयो छठ

छठमा पहाडी समूदायको बढ्दैछ आकर्षण

विशेष गरी तराईमा मनाई छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि मनाइन थालिएको छ । नेपालको तराई मधेसमा धुमधामका साथ मनाइने यो पर्व यस वर्ष पोखरामा पनि मनाइँदै छ ।

पोखरामा छठ मनाउनेहरु मधेसी समुदायका भक्तजनहरु मात्र छैनन् उनीहरुसँग पहाडी समुदाय पनि छठ मनाउन नदि तलाउ किनारमा सहभागी भएका छन् । पोखरामा पछिल्ला केही वर्षदेखि व्यवस्थित ढंगले तीन ठाउँमा छठ पर्व मनाउन थालेसँगै छठ मनाउने पहाडी समुदायको संख्यामा वृद्धि हुँदै गएको एन.बी.व्यवसायी समितिका अध्यक्ष भुनेस कुमारले बताए ।

त्यसैमध्येकी एक हुन् माया श्रेष्ठ । उनले केदारेश्वर मन्दिरको छठ घाटमा आफ्नो मनाकोक्ष पूरा हुने धार्मिक विश्वासका साथ आफ्ना साथीहरुको साथमा पूजा गरी अर्घ दिएकी छन् । श्रेष्ठ मात्र होइन उनीजस्ता थुप्रै पहाडी समुदायका श्रद्धालुहरु छठ पर्व मनाउन तराई बासिसँगै सरिक भएका छन् ।

पोखराक्षेत्रका पहाडी समूदायले पोखरा नदीपुरको नारायणस्थान मन्दिर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा मधेसी समुदायसँगै छठ पूजा धुमधामका साथ मनाउँदैछन् ।

छठ पर्वको मुख्य दिन (षष्ठी) पर्वको मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पोखराका मुख्य तीन ठाँउमा धुमधामका साथ मनाउदै गरेका हुन् । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्वलाई उनिहरुले विदाई गर्नेछन् । पोखरामा मंगलबार दिउँसो करिब ४ बजेदेखि सिमसिम पानी परे पनि श्रद्धालु भक्तजनहरुले पानीको कुनै परवाह नगरी पूजा गर्न व्यस्त थिए ।

पोखरामा विगत २ दशकभन्दा लामो समयदेखि पोखरामा व्यवस्थित ढंगले छठ पर्व माउन थालेसँगै आफुहरुलाई पायक पर्ने स्थलमा गएर पूजा गर्ने गरेका छन् । केही वर्षदेखि पोखरामा छठ पर्वको छुट्टै रौनक देखिँन थालेको छ । विगत ४ वर्षदेखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला)मा पनि धुमधामका साथ यो पर्व मनाउँदै आएको त्रिवेणी घाट छठ पूजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए । छठको पूजा गर्न पूजा स्थल (घाट) झकीझकाउ पारिएको छ ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु